काठमाडौं। नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ। आवश्यक व्यवस्थापनको तयारी सकिएको हो। ललितपुरबाट र्याली समेत सुरु भएको छ। ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा कुपण्डोलबाट बाजाबागासहित र्याली सुरु भएको हो।
र्यालीमा सास्कृतिक झाँकी, बाजा, पोशाकमा समेत सहभागी छन्। महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी छ।
ललितपुरको कुपण्डोलबाट नेपाली कांग्रेसका नेता पूर्वमन्त्री श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सह महामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ, लगायतको नेतृत्वमा बाजागाजा सहित ¥याली सुरु भएको हो।
यस्तै शकरदेव क्याम्पसबाट पनि विशेष महाधिवेशनको भव्य सफलताको नारासहित र्याली निकालिएको छ। महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गरिएको हो। सबै रुटबाट जुलुस निस्कने तयारी भइरहको गरिएको सचिवालयले जनाएको छ।
जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ। विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ। उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।
प्रतिक्रिया