विशेष महाधिवेशन निष्क्रिय भएको कांग्रेसको परिपत्र

मंगलबार, २२ पुस २०८२

काठमाडौँ : महाधिवेशनको विषयलाई लिएर नेपाली काङ्ग्रेसभित्र जारी विवाद झन् पेचिलो बन्दै गएको छ । शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेसँगै काङ्ग्रेसभित्रको आन्तरिक विवाद समाधानतर्फ उन्मुख हुनुको सट्टा थप गहिरिँदै गएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जुनसुकै मूल्य चुकाएर भए पनि पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने अडान दोहोर्‍याएका छन् । महामन्त्रीद्वयको अडान कायमै रहँदा पार्टीले भने तल्ला समितिहरूलाई परिपत्र गर्दै विशेष महाधिवेशनको औचित्य गत मङ्सिर १५ गते नै स्वतः समाप्त भइसकेको स्पष्ट पारेको छ ।

मङ्सिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा पारित गरिसकेकाले सोही दिनदेखि विशेष महाधिवेशनको औचित्य समाप्त भएको परिपत्रमा उल्लेख छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका, वडा लगायत मातहतका निकायलाई परिपत्र पठाउँदै कार्यसम्पादन समिति बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।

नयाँ परिपत्रमा पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८, २९, ३० र ३१ गते सम्पन्न गर्ने निर्णय भइसकेको उल्लेख गर्दै सोहीअनुसारको महाधिवेशन कार्यतालिका समेत पठाइएको छ । महाधिवेशनका लागि आवश्यक प्रक्रियामध्ये क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणलाई पहिलो अनिवार्य तयारी मानिए पनि निर्धारित समयभित्र केन्द्रीय कार्यसमितिमा क्रियाशील सदस्यताको सूची पेस हुन नसकेको परिपत्रमा जनाइएको छ ।

परिपत्रमा भनिएको छ, ‘२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूचीसहित मनोनयन दर्ता भइसकेको छ ।

यस्तो अवस्थामा पार्टीका केन्द्रदेखि टोल तहसम्मका समिति, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समिति तथा पार्टी सदस्य, समर्थक र शुभेच्छुकहरूको सम्पूर्ण ध्यान अब निर्वाचन केन्द्रित हुनुपर्ने अवस्था छ ।’

यससँगै पार्टीभित्र लामो समयदेखि बहस र विवादको विषय बनेको विशेष महाधिवेशनको अध्यायलाई नेतृत्वले औपचारिक रूपमा बन्द गरेको देखिएको छ ।

पार्टी केन्द्रले गोप्य परिपत्रमार्फत विशेष महाधिवेशनको औचित्य मङ्सिर १५ गते नै समाप्त भइसकेको स्पष्ट पारेको हो । यो निर्णयसँगै संस्थापन इतर समूह (गगन थापा–विश्वप्रकाश शर्मा पक्ष) ले अघि सारेको नीतिगत रूपान्तरणको एजेन्डा प्राविधिक रूपमा ओझेलमा पर्ने अवस्था सिर्जना भएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले ‘नीतिगत स्पष्टता’ र ‘चुनावी पूर्व–गठबन्धन नगर्ने’ सुनिश्चितताका लागि विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरी सभापति शेरबहादुर देउवालाई दबाबमा राखेका थिए । तर, नेतृत्वले नयाँ महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै उक्त दबाबलाई कमजोर बनाएको छ ।

काँग्रेसको पछिल्लो निर्णयले पार्टीको आन्तरिक राजनीतिमा तीन सङ्केत देखिएका छन् । निर्वाचनको बहानामा विशेष महाधिवेशन टार्न सफल हुनु सभापति देउवाका लागि रणनीतिक जितका रूपमा देखिएको छ ।

अब महामन्त्रीद्वयसँग पार्टी निर्णय स्वीकार गर्दै चुनावी तयारीमा लाग्ने वा हस्ताक्षरकर्तालाई दबाबको राजनीतिमा परिचालन गर्ने दुई विकल्प मात्र बाँकी छन् । तर, केही प्रतिनिधिले हस्ताक्षर फिर्ता लिन थालेकाले दबाबको मोर्चा कमजोर बन्दै गएको सङ्केत देखिन्छ ।

परिपत्रअनुसार अब टोलदेखि केन्द्रसम्मका सबै समिति निर्वाचन केन्द्रित हुनेछन् । काँग्रेसले अन्ततः विशेषभन्दा नियमित महाधिवेशन र आम निर्वाचनको बाटो रोजेको देखिन्छ ।

विशेष महाधिवेशन हुन दिँदैनौँ : पूर्वमहामन्त्री सिटौला

नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभा काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने स्पष्ट पार्नुभएको छ ।

नियमित महाधिवेशनको मिति तय भइसकेकाले विशेष महाधिवेशन हुन नदिने चेतावनी दिँदै उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशन हुँदैन, हुन दिँदैनौँ । काँग्रेस चिरा हुँदैन, हामी हुन दिँदैनौँ ।’हस्ताक्षर गरेका प्रतिनिधिलाई काठमाडौँ नआउन आग्रह गर्दै उहाँले चुनावी तयारीमा लाग्न समेत अनुरोध गर्नुभएको छ ।

विशेष महाधिवेशन हुन्छ, पार्टी फुट्दैन : महामन्त्री शर्मा

पार्टीले औचित्य समाप्त भएको भन्दै परिपत्र जारी गरे पनि महामन्त्रीद्वय विशेष महाधिवेशनको अडानमा कायमै छन् । महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभयो, ‘विशेष महाधिवेशन हुन्छ । पार्टी विभाजन हुँदैन । विधानअनुसार माग भएको विशेष महाधिवेशनले पार्टीलाई थप मजबुत बनाउँछ ।’
पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने प्रचार गरिएको छ । भृकुटीमण्डपको हल बुकिङ भइसकेको र कार्यविधि विशेष महाधिवेशन हलले तय गर्ने पक्षधर नेताहरूको भनाइ छ । २९ असोजमा २ हजार ४८८ प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो र हस्ताक्षर अझै बढ्ने दाबी गरिएको छ ।

विशेष महाधिवेशन पक्षधरहरूसँग डा. शेखरको छलफल

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विवाद समाधानका लागि मध्यमार्गी विकल्प खोज्न आफूनिकट नेताहरूलाई सक्रिय बनाउनुभएको छ । सोमबार बिहान वसुन्धरास्थित निवासमा विशेष महाधिवेशन पक्षधर नेताहरूसँग छलफल गर्दै सम्भावित समाधानबारे राय लिइएको हो । छलफलमा सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल लगायत सहभागी थिए ।

पाँच प्रदेश सभापतिको निष्कर्ष : ‘औचित्य समाप्त’

काँग्रेसका पाँच प्रदेश सभापतिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै निर्वाचन केन्द्रित हुन अपिल गरेका छन् ।

कोसी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश सभापतिद्वारा जारी संयुक्त विज्ञप्तिमा कार्यसम्पादन समितिको निर्णयअनुसार २०८३ वैशाख २८–३१ मा नियमित महाधिवेशन हुने भएकाले त्यसअघि विशेष महाधिवेशन गर्ने औचित्य नरहेको उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार