विराटनगर : मलद्वारमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) लुकाएर ल्याउँदै गरेको एक जनालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–६ निवासी २९ वर्षीय विवेक तिमल्सिना रहेका छन् । उनलाई सुनवर्षी नगरपालिका–१ र २ को सिमानामा पर्ने गिरदलिया भित्री सडकखण्डबाट बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो ।
प्रहरी चौकी अमरदहबाट खटिएको टोलीले डाइनियाबाट पथरीतर्फ जाँदै गरेको बा ३७ प ४०० नम्बरको मोटरसाइकल शंकास्पद देखिएपछि दिउँसो करिब १ बजे रोकेर चेकजाँच गरेको थियो । खानतलासीका क्रममा तिमल्सिनाले मलद्वारमा प्लास्टिकको पोका बनाएर लुकाइछिपाइ ल्याएको अवस्थामा लागुऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तिमल्सिनाको मलद्वारबाट ३ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
खैरो हेरोइन र मोटरसाइकलसहित पक्राउ परेका तिमल्सिनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ । तिमल्सिनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया