नेपाली काँग्रेसको १५औँ महाधिवेशन अनिश्चित: कार्यतालिका हेरफेर तर टुंगो छैन नयाँ मिति

विहीबार, १० पुस २०८२

काठमाडौँ : नेपाली काँग्रेसको १५औँ महाधिवेशन तोकिएको मितिमा नहुने भएको छ। क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि मिति सार्ने तयारीमा काँग्रेस नेतृत्व जुटेको हो। यस विषयमा पार्टीका शीर्ष नेताहरूबीच आन्तरिक छलफल भइरहेको छ।

बुधवार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन गर्ने प्रस्ताव पेस गरिएको थियो। यसअघि केन्द्रीय समितिबाट पुसको दोस्रो सातादेखि वडा तहका अधिवेशन सुरु गरी पुस २७ देखि २९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पारित भएको थियो। तर कार्यतालिका कार्यान्वयनमा समस्या देखिएपछि महाधिवेशन करिब १५ दिन पछि सार्ने तयारी गरिएको हो।

क्रियाशील सदस्यता वितरणमा ढिलाइ, राष्ट्रिय सभा सदस्यको निर्वाचन तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण महाधिवेशन सार्नुपर्ने अवस्था आएको भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाले यसबारे महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई यसअघि नै जानकारी गराइसकेका थिए।

बैठकमा पार्टी महाधिवेशन, राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भएको काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। यसअघि महाधिवेशन निर्वाचन अघि कि पछि गर्ने भन्ने विषयमा काङ्ग्रेसभित्र चर्को आन्तरिक विवाद देखिएको थियो, जसका कारण केन्द्रीय कार्यसमितिको बैठक महिनौँसम्म लम्बिएको थियो। तर निर्वाचनअघि नै महाधिवेशन गर्ने निर्णय भएपछि विवाद केही मत्थर भएको थियो।

काङ्ग्रेसभित्र महामन्त्रीद्वय थापा र शर्मा सहित संस्थापनइतर समूहले नियमित समयमा महाधिवेशन हुनैपर्ने अडान लिँदै आएका छन्। उनीहरूले समयमै महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान कायम राखेका छन्।

बैठकमा महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइका कारण महाधिवेशन कार्यतालिकामा सामान्य संशोधन गर्न प्रस्ताव पेस गरेका थिए। उनले वडा अधिवेशन पुस २१ गते र क्षेत्रीय अधिवेशन पुस २३ गते गर्ने प्रस्ताव राखेका हुन्।

महामन्त्री थापाले क्रियाशील सदस्यताको प्रगति विवरणसमेत बैठकमा प्रस्तुत गरेको प्रवक्ता महतले बताए। साथै, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समानुपातिक सूची निर्वाचनका लागि पेस गर्ने तथा राष्ट्रिय सभाका उम्मेदवारको सूची तयार गर्ने विषय पनि बैठकमा राखिएको थियो।

त्यसैगरी, अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिले गरेका कारबाहीबारे जानकारी गराएका थिए। बैठकमा प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा पनि छलफल भएको महतले बताए। ‘हामी निर्वाचनको तयारीमा छौँ। निर्वाचन छाडेर पुनर्स्थापनातिर लाग्दैनौँ। तर निर्वाचन हुने वातावरण नभए पुनर्स्थापनाको विकल्पमा जानुपर्ने हुन्छ,’ प्रवक्ता महतले भने।

बैठकमा काँग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिने विषय उठेको पनि महतले जानकारी दिए। आयोगमा गएर बयान दिन लेखकलाई बैठकले सुझाव दिएको हो।

सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिए पनि वास्तविक अधिकार आफैँले राखेको टिप्पणी गरे। उनले खड्कालाई ‘नाम मात्रको कार्यवाहक सभापति’को संज्ञा दिए।
‘सभापतिले कार्यवाहक दिनुभएको छ, तर सबै शक्ति उतै (देउवाकहाँ) छ,’ थापाले भने। महामन्त्री थापाले महाधिवेशन नगरी पार्टी निर्वाचनमा नजाने स्पष्ट अडान व्यक्त गरे। ‘महाधिवेशन नगरी, नयाँ नेतृत्व चयन नगरी नेपाली काँग्रेस निर्वाचनमा जान हुँदैन, जान सक्दैन,’ उनले भने।

पार्टीको सर्वोत्तम हितका लागि सभापतिले जिम्मेवार भूमिका खेल्नुपर्ने उल्लेख गर्दै थापाले आवश्यक निर्णय यही बैठकबाट हुने र आगामी कदम चालिने बताए। नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनको विकल्प खुला रहेको उनले स्पष्ट पारे।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार