काठमाडौँ : आन्तरिक महाधिवेशन र अन्तरपार्टी चुनावी प्रतिस्पर्धाको तयारीमा जुटेको नेपाली काँग्रेस दोहोरो दबाबमा परेको छ । छोटो समयमा १५औँ महाधिवेशन सम्पन्न गरी आम चुनावमा होमिनुपर्ने दबाबमा रहेको काँग्रेस केन्द्रीय समितिले तल्लो तहका समितिलाई आवश्यक तयारीसम्बन्धी परिपत्र गरिसकेको छ ।
महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण तथा वितरण र चुनावका लागि इच्छुक उम्मेदवारको नाम सिफारिस गर्ने जिम्मेवारी पार्टीले जिल्ला तहलाई दिएको छ । तर केन्द्रको निर्देशनलाई जिल्ला तहले अवज्ञा गरेको देखिएको छ ।
मङ्सिर १५ गतेको केन्द्रीय कार्यसमितिको बैठकले मङ्सिर मसान्तसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । सोही दिन मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशनसहितको परिपत्र जारी गरेका थिए ।
परिपत्रमा भनिएको छ, ‘प्रतिनिधिसभा प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्ने ।’ साथै, उम्मेदवारले पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पूरा गरेको हुनुपर्ने उल्लेख गरिएको थियो ।
तर उम्मेदवार छनोटसम्बन्धी विषय अस्पष्ट भएको भन्दै जिल्ला कार्यसमितिहरूले स्पष्टता मागेपछि केन्द्रीय कार्यालयले मङ्सिर १८ गते अर्को परिपत्र जारी गर्यो । उक्त परिपत्रमा राष्ट्रियसभा र प्रदेशसभामा बहाल रहेका सांसदहरूको नाम सिफारिस नगर्न स्पष्ट गरिएको थियो । बहाल जनप्रतिनिधि बाहेकका आकाङ्क्षीमध्ये पनि एक महिलासहित बढीमा तीन जनाको नाम मात्र पठाउन निर्देशन दिइएको थियो ।
यद्यपि, दुवै परिपत्रलाई मातहतका समितिले उल्लङ्घन गरेका छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फ एक महिलासहित तीन जनाको मात्र नाम सिफारिस गर्न निर्देशन दिइए पनि कतिपय स्थानबाट २० जनासम्मको नाम सिफारिस गरिएको छ । त्यो पनि तोकिएको समयसीमाभित्र गरिएको छैन । केन्द्रले दिएको समयसीमा अनुसार मङ्सिर महिनाभरि सबै जिल्ला तथा प्रदेशबाट उम्मेदवारको सूची पठाइसक्नुपर्ने थियो, तर समयसीमासमेत उल्लङ्घन भएको पाइएको छ ।
दुई पटकको परिपत्रको पालना नभएपछि काँग्रेस केन्द्रीय कार्यालयले मङ्सिर २५ गते पुनः अर्को परिपत्र जारी गर्यो । मङ्सिर १५ र १८ गतेका परिपत्रमा तोकिएको मापदण्ड र सङ्ख्याअनुसार पार्टी विधान २०१७ (संशोधनसहित) बमोजिम उम्मेदवार सिफारिस गर्न पुनः ध्यानाकर्षण गराइएको थियो । तर जिल्ला तहमा सहमति जुट्न नसकेपछि आएका सबै आकाङ्क्षीको नाम पठाइएको जिल्ला सभापतिहरूले बताएका छन् ।
‘केन्द्रको परिपत्र उल्लङ्घन गर्न खोजिएको होइन, धेरै नेता–कार्यकर्ताको दबाब झेल्न नसकेर आकाङ्क्षी सबैको नाम केन्द्रमा पठाएका हौँ,’ ओखलढुङ्गाका सभापति तेजेन्द्र खनालले भने, ‘केन्द्रले निर्णय गरेर एक जनालाई टिकट दिन्छ, त्यसमा सबैले सहयोग गर्नुपर्छ ।’
बुधवार काठमाडौँ–७ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ जनाको नाम सिफारिस गरिएको नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री सरोजकुमार थापाले जानकारी दिए । प्रदेशसभा सदस्यलाई सिफारिस नगर्न भनिए पनि नुवाकोट–२ बाट बागमती प्रदेशसभा सदस्य बहादुरसिंह लामा, रुपन्देही–१ बाट अब्दुल रज्जाक, सर्लाही–४ बाट वीरेन्द्रकुमार सिंह, पर्साबाट जनार्दनसिंह क्षेत्रीसहितका नाम सिफारिस गरिएको छ । त्यस्तै, ओखलढुङ्गाबाट छ जनाको नाम सिफारिस गरिएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका कर्मचारीहरूले मापदण्डविपरीत आएका सिफारिस बुझेर राखे पनि दर्ता नगरेको बताएका छन् । ‘तीन पटक परिपत्र गरे पनि मापदण्डविपरीत सिफारिस आएका छन् । त्यस्ता सिफारिस हामीले दर्ता नगरी राखेका छौँ,’ एक कर्मचारीले मध्यान्हसँग बताए ।
मातहतका समितिले निर्देशन उल्लङ्घन गरेपछि अब पठाइएका सिफारिस कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न उठेको छ ।
उम्मेदवार सिफारिस मात्र होइन, १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणको कामसमेत ढिला भइरहेको छ । पुस ३ गतेसम्म पठाइसक्नुपर्ने नवीकरण विवरण र पुस ८ गतेसम्म नयाँ क्रियाशील सदस्यको विवरण धेरै जिल्लाले तयार पारेका छैनन् ।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रको मापदण्ड मातहतका समितिले पालना गर्नुपर्ने बताए । ‘क्रियाशील सदस्यता वितरण र नवीकरणको कामसमेत ढिला भइरहेको छ,’ उनले भने, ‘काँग्रेस अहिले दोहोरो दबाबमा छ, तल्लो तहका समितिले केन्द्रको निर्देशन पालना गरे मात्र पार्टीले सफलता हासिल गर्न सक्छ । नत्र समयको चापले समस्या झन् गम्भीर हुन्छ ।’
कतिपय जिल्ला र क्षेत्रबाट मापदण्डविपरीत आएका सिफारिसबारे संसदीय बोर्डले निर्णय लिने उनले बताए । ‘केन्द्रीय समितिको निर्णयअनुसार जारी परिपत्र पालना गर्नु मातहत समितिको जिम्मेवारी हो । हामी गम्भीर समयचापमा छौँ । चुनावसँगै १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता सम्बन्धी काम छिटो सक्नुपर्ने छ,’ प्रवक्ता महतले भने ।
आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया