झापा: झापाको बिर्तामोड नगरपालिका- ६ गिरीबन्धु टी-स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ।
प्रहरीका अनुसार साँझ करिब ५ः३० बजे चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-५ निवासी २५ वर्षीय भूपाल अधिकारी र मोटरसाइकलमा सवार करिब २५-२६ वर्ष उमेरका एक पुरुष गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएनसी अस्पताल पुर्याइएकोमा चिकित्सकले साँझ दुवैलाई मृत घोषणा गरेका हुन्। मृतकहरूको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ।
प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया