काठमाडौँ : नेपालले विश्व शान्ति र नेतृत्वको आधार आन्तरिक स्थिरता भएको सन्देश संयुक्त राष्ट्रसंघमार्फत विश्व समुदायलाई दिएको छ।
दोस्रो विश्व ध्यान दिवसका अवसरमा डिसेम्बर १९ मा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘विश्वव्यापी शान्ति र सद्भावका लागि ध्यान’ कार्यक्रममा नेपालका तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापक श्रद्धेय गुरुदेव एल.पी. भानु शर्माले ध्यानले मानिसको मन स्थिर बनाउने र यही स्थिरताले द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने बताए।
उनले आधुनिक विश्वमा प्रविधि बढेसँगै मानिसको तनाव, वैमनस्यता र मानसिक असन्तुलन पनि बढ्दै गएको उल्लेख गरे। बाह्य द्वन्द्वको जरो मानव मनको अस्थिरतामा रहेको भन्दै त्यसको समाधान ध्यानबाट सम्भव हुने उनले बताए।
गुरुदेव भानु शर्माले बुद्ध जन्मभूमि नेपाल शान्ति, करुणा र आत्मअनुशासनको परम्पराको केन्द्र रहेको उल्लेख गर्दै ती अभ्यासहरू हार्वर्ड, स्ट्यानफोर्ड र अक्सफोर्डजस्ता विश्वविद्यालयका अनुसन्धानले पनि पुष्टि गरिसकेको जानकारी दिए।
उनले मानसिक स्वास्थ्यलाई ‘वैश्विक पूर्वाधार’का रूपमा विकास गर्नुपर्नेमा जोड दिए। शिक्षामा ध्यान र भावनात्मक बुद्धिमत्ता, स्वास्थ्य क्षेत्रमा मानसिक ऊर्जा सन्तुलन तथा कूटनीतिक र कार्यकारी नेतृत्वका लागि ध्यान प्रशिक्षण आवश्यक रहेको उनले बताए।
नेपालका तर्फबाट विश्व समुदायलाई सचेत नेतृत्व विकास गर्न, डिजिटल माध्यम प्रयोग गरी ध्यान अभ्यासलाई विश्वव्यापी बनाउन र शान्तिका लागि आन्तरिक जागरणमा जोड दिन उनले आव्हान गरे।
कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, एण्डोरा र मेक्सिकोका स्थायी प्रतिनिधिले ध्यान दिवस मनाउनुको उद्देश्यबारे धारणा राखेका थिए। कार्यक्रममा श्री श्री रवि शंकरलगायत विभिन्न देशका आध्यात्मिक गुरुहरूको प्रस्तुति रहेको जानकारी दिइयो।
यसै अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमै नेपालले आयोजना गरेको ‘जागृत मनः शान्ति, स्वास्थ्य र सद्भावको बाटो’ कार्यक्रममा श्रद्धेय रमेश गुरुदेवले सहभागीलाई ध्यान गराउँदै ध्यानले शरीरको ऊर्जा सक्रिय बनाउने र मानसिक शान्ति प्रदान गर्ने बताए।
कार्यक्रममा संयुक्त राष्ट्रसंघका उपमहासचिव अटुल खरे, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत विभिन्न देशका प्रतिनिधिको सहभागिता रहेको जानकारी दिइयो।
प्रतिक्रिया