झापा : झापाको राजनीतिक इतिहासमा २०२८–२०२९ सालको कालखण्ड अत्यन्तै रक्तरञ्जित र पीडादायी मानिन्छ ।
यही कालखण्डमा प्रजातान्त्रिक विचारधाराका पक्षधर तथा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता उद्रकान्त राजवंशीको निर्ममता पूर्वक हत्या गरिएको थियो । त्यस बखत उनी झापा विद्रोहको नाममा चलेको हिंसात्मक कम्युनिष्ट आन्दोलनका सिकार बनेका थिए ।
बिर्तामोड नगरपालिका–९, साविक गरामनी–६ मा बुबा बुधकोष राजवंशीका साइला सुपुत्रका रूपमा २०१५ सालमा जन्मिएका उद्रकान्तको हत्या २०२९ साल मंसीर २३ गते साँझ करिब ७ बजे आफ्नै घरभित्र भएको थियो ।
हुक्का तानेर बसिरहेका उद्रकान्तमाथि एक्कासी हतियारधारी समूह घरभित्र प्रवेश गरी ९० भन्दा बढी ठाउँमा काटेर क्रूर र अमानवीय ढङ्गले हत्या गरेको उद्रकान्तका नातिनी ज्वाइँ चण्डौल राजवंशी बताए ।
‘सुरुमा चिनी माग्ने बहानामा उनीहरू घर भित्र पसे’ उद्रकान्तका नातिनी ज्वाइँ चण्डालले भने – म काखमा नानी लिएर बसेको थिए त्यही बेला उद्रकान्तलाई टुक्रा टुक्रा हुने गरी काटे ।
म मुस्किलले बाँचेको हुँ । नानी लिएर घर बाहिर पुग्न नपाउँदै मलाई पनि खुकुरी प्रहार भयो । त्यस बेला काटिएको ठाउँ ९गाला० देखाउँदै भने उनले भने – मलाई पनि मार्ने थिए, तर भागेर ज्यान जोगाए ।
घरेलु हतियारसहित २५-३० जनाको हुल आएर उद्रकान्तको विभित्स हत्या गरिएको थियो उनले विगत सम्झँदै भने हाम्रो बुवा अत्यन्त सरल र सहयोगी हुनहुन्थ्यो ।
भारतको नक्सलवादी आन्दोलनका अगुवा चारु मजुमदारको विचारबाट प्रभावित भई तत्कालीन नेकपा ९माले० हालको ९नेकपा एमाले० का कार्यकर्ताले व्यक्ति हत्या अभियान सञ्चालन गरेको इतिहासमा उल्लेख छ ।
त्यतिबेला मुख्य रूपमा प्रजातान्त्रिक विचारधारा बोकेका नेपाली कांग्रेसी नेता–कार्यकर्तालाई छानी छानी हत्या गर्ने आतंक फैलाइएको थियो । यही क्रममा झापामा बुटन चौधरी, ईश्वरीप्रसाद चुँडाल, धर्मप्रसाद ढकाल, विष्णुप्रसाद विमली लगायतको हत्या गरिएको थियो ।
२०१५ सालको आम निर्वाचनपछि नेपाली कांग्रेसको सङ्गठन विस्तारमा आदिवासी राजवंशी समुदायबाट सक्रिय भूमिका खेलेका कारण उद्रकान्त राजवंशीलाई लक्षित गरी हत्या गरिएको स्थानीयहरू बताउँछन् ।
उद्रकान्तका नातिनी ज्वाइँ चण्डौल अनुसार डकैती शैलीमा घर पसेका हतियारधारी समूहले उहाँमाथि अन्धाधुन्ध आक्रमण ग¥यो । हामी आगो तापेर बसिरहेका थियौँ, म र पनातिनी सन्तवाला पनि गम्भीर घाइते भयौँ ।
उद्रकान्तको बीभत्स हत्या देखे लगत्तै छिमेकी मङ्गलसिंह राजवंशीकी श्रीमती तारामनीको पनि घटनास्थलमै मृत्यु भएको हृदय विदारक घटना सम्झँदै उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठानका अध्यक्ष खगेन्द्र मैनालीले भने यो घटना अत्यन्त हृदय विदारक र पीडादायी छ ।
उद्रकान्त नेपाली कांग्रेस झापाका अग्रज नेताहरू हरिविलास पट्वारी, फतेबहादुर बुढाथोकी, दलबहादुर बुढाथोकी, तुर्सा हेमरम, हरिशंकर मुन्सीलगायतसँग काँधमा काँध मिलाएर पार्टीको काममा सक्रिय थिए ।
उनी प्रजातान्त्रिक समाजवादी विचारधाराका अनुयायी तथा राजनीतिक चेतनामा अब्बल कार्यकर्ता मानिन्थे ।
उनका बुबा बुधकोष राजवंशी भारतको गलगलिया क्षेत्रबाट बसाइँ सरी झापाको गरामनी आएका थिए । त्यतिबेला गरामनीलाई “गड्डामनी” भनिन्थ्यो, जसको अर्थ राजवंशी भाषामा गहिरो पोखरी हो । बजार नजिकै रहेको ठूलो पोखरीका कारण नामकरण भएको उक्त पोखरी हाल भने मासिसकेको छ ।
झापामा २०२८ साल जेठ २ गते कर्णबहादुर गौतमको हत्याबाट झापा विद्रोह सुरु भएको मानिन्छ । चीनको सर्वहारा सांस्कृतिक क्रान्ति र भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित भई जनवादी क्रान्तिको नाममा सशस्त्र हिंसा सुरु गरिएको थियो ।
विद्रोहको नेतृत्व सीपी मैनाली, आरके मैनाली, मोहनचन्द्र अधिकारी, केपी ओलीलगायतले गरेको इतिहासमा उल्लेख छ ।
झापा विद्रोहका क्रममा विद्रोही पक्षबाट उद्रकान्त राजवंशीसहित ८ जना र सरकारी पक्षबाट ७ जना गरी कुल १५ जना झापालीको ज्यान गएको थियो । पुण्य शर्मा भने हालसम्म बेपत्ता छन् ।
विद्रोहपछि पञ्चायती सरकारले गरेको दमनमा सयौँ झापाली निर्वासित भए, कैयौँले दशकौँ जेल जीवन बिताए । हालका केही शीर्ष नेताहरू पनि त्यस समय लामो समय जेल जीवन भोगेका थिए ।
उद्रकान्त राजवंशीको हत्या केवल एक व्यक्तिको मृत्यु मात्र थिएन, त्यो झापाको राजनीतिक इतिहासमा प्रजातान्त्रिक आवाज दबाउने एउटा भयावह अध्याय थियो ।
आज पनि उनको नाम झापाली राजनीतिमा सहिदका रूपमा स्मरण गरिन्छ । सत्य, विचार र लोकतन्त्रका लागि ज्यान अर्पण गरेका उद्रकान्त राजवंशीको योगदान झापाको राजनीतिक इतिहासमा अग्र स्थानमा रहेको नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले बताए ।
प्रतिक्रिया