ट्राफिक प्रहरीलाई सडकको ‘राजदूत’ भएर काम गर्न प्रमुख गिरीको निर्देशन

सोमबार, ०३ कार्तिक २०८२

इटहरी : जेनजी आन्दोलनपश्चात् राजमार्ग क्षेत्रमा ट्राफिक व्यवस्थापनमा थप चुनौती देखिएको भन्दै राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले संयमपूर्वक र जिम्मेवारीका साथ काम गर्न मातहत प्रहरीलाई निर्देशन दिएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका नयाँ प्रमुखका रूपमा प्रहरी निरीक्षक अनिल माबोहाङ र झापाका लागि सरुवा भएका प्रहरी निरीक्षक सन्तोष राईको स्वागतार्थ सोमबार आयोजित कार्यक्रममा प्रमुख गिरीले ट्राफिक प्रहरीलाई “जनताको बिचमा बसेर जनताको सेवामा समर्पित हुन” निर्देशन दिएका हुन्।

गिरीले भने, “राजमार्गमै बसेर सेवा दिने प्रहरी नै सडकका  ‘राजदूत’ हुन्। हरेक ट्राफिक प्रहरीले आफू कुन ठाउँमा बसेर कस्तो व्यवहार गर्छ भन्ने कुराले नै संस्थाको छवि निर्धारण गर्छ।”

उनले ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित, अनुशासित र जनमैत्री बनाउन सबै निकायको सहकार्य जरुरी रहेको उल्लेख गरे। साथै, इटहरीसहित सम्पूर्ण पूर्वी राजमार्ग क्षेत्रमा ट्राफिक सेवा प्रभावकारी बनाउन सघाउने वातावरण बनाउन आग्रह गरे।

कार्यक्रममा गिरीले मातहतका प्रहरीबिच भाइचारा र समन्वयपूर्ण वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै, “हाम्रो लक्ष्य जनताको विश्वास जित्ने हो, त्यसका लागि व्यवहार नै प्रमुख हतियार हो,” भने।

सो अवसरमा प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठ, प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृत तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ जिम्मेवारीका लागि आएका अधिकृतहरूलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

traffic

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार