पूर्वराष्ट्रपति भण्डारीको घर जलाउने एमाले निकट युवा संघका सोनम थेबे पक्राउ

मंगलबार, ०४ कार्तिक २०८२

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगजनी गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवा सङ्घका कार्यकर्ता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका–१ का ३२ वर्षीय सोनम थेबे रहेका छन्, जो हाल काठमाडौँको धुम्बाराहीमा बस्दै आएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार थेबेलाई सोमबार महाराजगन्ज क्षेत्रबाट पक्राउ गरिएको हो। “उनीलाई परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ,” भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार थेबे जेन–जी आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ गते पूर्वराष्ट्रपति भण्डारीको चक्रपथस्थित भंगालस्थित घरमा आगजनीमा मुख्य भूमिकामा देखिएका छन्।

“उनीमाथि आपराधिक उपद्रव, तोडफोड र आगजनीका अभियोगमा अनुसन्धान भइरहेको छ,” एसपी भट्टराईले बताए।

प्रहरीको भनाइ अनुसार, थेबे आपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन्। उनी धुम्बाराही क्षेत्रका होटल, रात्रिकालीन व्यवसायी र जग्गा कारोबारीलाई धम्क्याएर रकम असुल गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

“गुन्डागर्दीको आवरणमा असुली गरेर स्थानीयलाई दुःख दिँदै आएका थिए भन्ने जानकारी छ,” भट्टराईले भने, “सबै पक्षको विस्तृत अनुसन्धान भइरहेको छ, कडाभन्दा कडा कारबाही हुनेछ।”

भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा राजधानीमा व्यापक तोडफोड र आगजनीका घटना भएका थिए। सोही क्रममा भण्डारीको निजी आवास समेत जलाइएको थियो।

भण्डारी राष्ट्रपति हुनुभन्दा अघि एमाले उपाध्यक्ष थिइन् र हाल पनि एमाले राजनीतिमा सक्रिय छिन्। प्रहरीले थेबे युवा सङ्घमा कुन तहका जिम्मेवार कार्यकर्ता हुन् भन्नेबारे पनि थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार