वराहक्षेत्रमा एक सय करोड दीप प्रज्वलनको तयारी

शनिबार, ०५ पुस २०८२

झापा : धर्तीको पहिलो तिर्थस्थलका रूपमा मानिने सुनसरीको वराहक्षेत्रमा इतिहासमै पहिलो पटक एक सय करोड दीप प्रज्वलन गरिने भएको छ। ‘नेपाल आमा स्वस्ती शान्ति पूजा अभियान–२०८२’ अन्तर्गत आगामी माघ १९ देखि २५ गतेसम्म आयोजना हुने श्रीमद् भागवत ज्ञान महायज्ञको अवसरमा यो अभूतपूर्व धार्मिक अभियान सञ्चालन हुन लागेको हो।

अभियानअन्तर्गत दीप प्रज्वलनलाई धार्मिक अनुष्ठान मात्र नभई राष्ट्र शान्ति, मानव कल्याण र नेपाल आमाको मंगल कामनासँग जोडिएको सामूहिक प्रार्थनाका रूपमा लिइएको श्री बैकुण्ठनाथ दिव्य धाम माता तीर्थ भागवत सेवा आश्रमका पीठाधीश श्री १००८ स्वामी भागवताचार्यले बताए।

उनका अनुसार वराह क्षेत्रका मन्दिर, घाट तथा तीर्थ परिसरमा प्रज्वलित प्रत्येक दीपले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै समाजमा आशाको उज्यालो फैलाउने उद्देश्य राखेको छ। “कोशी नदीको काखमा अवस्थित वराह क्षेत्र युगौँदेखि ऋषि–महर्षि र साधुसन्तहरूको साधनास्थल रहँदै आएको छ, यही पवित्र भूमिमा विश्वमै पहिलो पटक एक सय करोड दीप बाल्ने संकल्प गरिएको हो,” उनले भने।

अभियानका मुख्य अभियन्ता हरि महतले यो कार्यक्रम दान संकलनभन्दा चेतना संकलनका लागि आयोजना गरिएको स्पष्ट पारे। “पैसा होइन, तेल र बात्ती दिनुहोस्,” उनले भने, “तीन करोड नेपालीको अनुहारमा मुस्कान ल्याउने हाम्रो उद्देश्य हो।” उनका अनुसार अभियान सफल बनाउन देशभरबाट तेल र बात्ती संकलन गरिनेछ र कुनै आर्थिक लेनदेन गरिने छैन।

श्री बैकुण्ठनाथ दिव्य धाम, धार्मिक समाजसेवी अभियन्ता हरि महत तथा लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराको संयुक्त आयोजनामा अभियान सञ्चालन हुन लागेको जानकारी शनिबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइयो। अभियानका प्रचारप्रसाद संयोजक मधुसुदन रिजालले वराह क्षेत्रबाट प्रज्वलित दीपको उज्यालोले देश–विदेशमा रहेका नेपालीलाई भावनात्मक रूपमा जोड्ने विश्वास व्यक्त गरे।

महायज्ञमा विश्वप्रसिद्ध कथा वाचक प्रविण पण्डित दिनबन्धु पोखरेलद्वारा प्रमुख कथा वाचन गरिनेछ। कथामार्फत जीवन, कर्म, करुणा र शान्तिको सन्देश प्रवाह गरिने आयोजकले बताएका छन्।

पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार महायज्ञका क्रममा झण्डै पाँच करोड रुपैयाँ बराबरका बात्ती प्रज्वलन गरिनेछ भने त्यसका लागि करिब ७० हजार लिटर तेल आवश्यक पर्नेछ। महायज्ञ तथा एक सय करोड दीप प्रज्वलन अभियानका लागि देश तथा विदेशमा रहेका श्रद्धालुहरूलाई राष्ट्र शान्तिको कामनासहित तेल र बात्ती सहयोग गर्न आह्वान गरिएको छ।

पत्रकार सम्मेलनमा श्रीनिवासदास माता तीर्थ काठमाडौंका रुक्मणि रमण, पूजा सामग्रीकी महिला उद्यमी दुर्गादेवी रिजाललगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार