काठमाडौं : विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष तहका नेताहरूलाई जिताउन केही निर्वाचन क्षेत्रमा सहकार्यको गृहकार्य भइरहेको छ ।
केही दलबीच औपचारिक रूपमा गठबन्धनको तयारी हुँदै गर्दा केही सिटमा अघोषित सहकार्य गर्ने विषयमा पनि छलफल चलिरहेको छ । उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त हुँदा चुनावी सरगर्मी थप चुलिँदै गएको छ ।
मतदातासम्म पुग्ने र मत माग्ने गतिविधिले तीव्रता पाएसँगै विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका केही शीर्ष नेताहरू नै पराजित हुनसक्ने चिन्ता र चासो बढेको छ । यही आशंकाबीच शीर्ष नेताहरूलाई सुरक्षित गर्न सहकार्यका विषयमा आन्तरिक छलफल सुरु भएको हो ।
विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बनेका गगनकुमार थापा सर्लाही–४ बाट उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा काठमाडौं–४ बाट विजयी भएका थापाले यसपटक ठूलो जोखिम मोलेर सर्लाही–४ रोजेका हुन् ।
२०७९ सालको निर्वाचनमा सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन् । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका सिंहसँग यसपटक थापाको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यता झापा–५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन् भने रास्वपाका वरिष्ठ नेता बालेन शाहले उनलाई चुनौती दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर शाह झापा–५ बाट उम्मेदवार बनेका हुन् ।
विगतमा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग अघोषित तथा अन्य दलहरूसँग घोषित गठबन्धन गर्दै झापा–५ बाट विजयी हुँदै आएका थिए । यसपटक पनि जसरी भए पनि विजयी हुने उद्देश्यले ओलीले घोषित र अघोषित दुवै प्रकारका सहकार्यको प्रयास गरिरहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार झापा–५ मा कांग्रेसले एमालेका उम्मेदवारलाई सघाउने र सर्लाही–४ मा एमालेले कांग्रेसलाई सघाउने विषयमा ‘मोटामोटी सहमति’ भएको छ ।
विशेष महाधिवेशनमार्फत शेरबहादुर देउवालाई सभापतिबाट हटाएर नेतृत्व सम्हालेका थापा निर्वाचनमा कसरी विजयी हुने भन्ने विषयमा पार्टीभित्र गम्भीर छलफलमा छन् ।
झापा–५ मा रास्वपाका उम्मेदवार शाह चुनौती बन्दै गएपछि ओलीले नेकपा र राप्रपासँग समेत सहकार्यको प्रस्ताव अघि सारेका छन् ।
बदलामा झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रौतहट–१ मा नेकपाका उपसंयोजक माधव नेपाललाई सघाउने प्रस्ताव एमालेको रहेको बताइएको छ । यस प्रस्तावप्रति राप्रपा र नेकपालगायत दलहरू सकारात्मक देखिएका छन् र निर्वाचन नजिकिँदै जाँदा औपचारिक सहमति गर्ने तयारी भइरहेको छ ।
यसैबीच नेता माधव नेपालले पनि केही निर्वाचन क्षेत्रमा तालमेल गर्न जोड दिइरहेका छन् । प्रचण्ड र नेपाललाई विजयी गराउन एमालेका उम्मेदवारलाई ‘डमी’ बनाउने र त्यसको बदलामा ओलीलाई विजयी गराउन नेकपाले आफ्ना उम्मेदवारलाई ‘डमी’ बनाउने विषयमा समेत छलफल भइरहेको स्रोतको दाबी छ । त्यसैगरी सर्लाही–३ बाट उम्मेदवारी दिएका नेकपाका नेता नारायणकाजी श्रेष्ठलाई विजयी गराउने विषयमा पनि आन्तरिक छलफल जारी रहेको बताइएको छ ।
प्रतिक्रिया