काठमाडौं । विश्व तीव्र गतिमा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित युगतिर प्रवेश गरिरहेको बेला नेपालमा एआई, सूचना प्रविधि (आईटी), डिजिटल अर्थतन्त्र र नयाँ पुस्ताका अवसरबारे महत्वपूर्ण बहस सुरु भएको छ ।
यही सन्दर्भमा वल्र्ड एआई एलायन्सका संस्थापक तथा सीईओ तथा न्युयोर्कमा आधारित प्रविधि व्यवसायी उज्वल रायले नेपालमा एआई सम्भावना, आवश्यक पूर्वाधार, नीति, जनशक्ति निर्माण र स्टार्टअप इकोसिस्टमका चुनौती तथा सुधारका दिशाबारे नेपाल न्यूज बैंकसँग विस्तृत कुरा गरेका छन् ।
रायका अनुसार आजको विश्वलाई परिवर्तन गरिरहेको एआई केवल एउटा चल्तीको प्रविधि नभई मानव सभ्यताकै दिशा बदल्न सक्ने शक्ति बनेको छ । ‘विश्व इतिहासमा १० वर्षमै एक ट्रिलियन डलरको कम्पनी बन्न सफल संगठन आजसम्म देखिएको थिएन,’ उनी भन्छन,‘तर ओपनएआई २०१८ मा स्थापना भएर २०२५ मा ट्रिलियन डलर मूल्याङ्कनको आईपीओमा जान लागेको छ । यही उदाहरणले एआईको तीव्र गति देखाउँछ ।’
एआईले विश्व अर्थतन्त्र पुनः परिभाषित गरिरहेको बेला नेपाल जस्तो सानो देशले पनि उचित तयारी गर्न सकेमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने उनी विश्वास व्यक्त गर्छन् । रायका अनुसार आईटी उद्योगले विश्व अर्थतन्त्रमा लामो समयदेखि योगदान दिए पनि एआई भने पूर्णतः नयाँ र तीव्र गतिमा वृद्धि भइरहेको क्षेत्र हो । ‘आईटी केही हदसम्म लेगेसी इन्डस्ट्री हो भने एआई पूर्ण रूपमा नयाँ निर्माण भइरहेको इन्डस्ट्री हो,’ उनी भन्छन्,‘एआईमा विश्वव्यापी रूपमा ‘¥यापिड एडोप्सन’ भइरहेको छ, जसले नयाँ राष्ट्रलाई अगाडि उक्लने अवसर दिन्छ ।’
उनका अनुसार एआई प्रयोग गरेर संसारका जुनसुकै ठाउँबाट पनि उच्च आम्दानी सम्भव छ, तर नेपालका ग्रामीण क्षेत्रका युवाले ‘डाँडाकाँडाबाट ल्यापटपमा बसेर १० लाख रुपैयाँ महिनामा कमाउन’ चाहने हो भने राम्रो इन्टरनेट कनेक्सन र विश्व बजारले माग गरिरहेका प्रविधिहरु पनि आवश्यक हुन्छन् ।
रायका अनुसार एआईले सिर्जना गरिरहेका नयाँ रोजगारीका लागि नेपालमा आवश्यक जनशक्तिको अभाव छ । ‘प्रोम्प्ट इन्जिनियर, एआई डिजिटल मार्केटर, एआई भिडियो क्रिएटरजस्ता पदका लागि नेपालमा योग्य जनशक्ति भेटिँदैन,’ उनी भन्छन,‘म आफू पनि नेपालमा सकेसम्म भर्ती गर्न खोज्छु, तर पाइँदैन । अन्ततः बंगलादेश वा बैंगलोरबाट हायर गर्नुपर्छ ।’
नेपालका युवाले एआईलाइ ‘च्याटजीपीटी चलाउने’ बुझाइमा सीमित राख्नु गलत भएको उनको टिप्पणी छ । ‘एआई केवल च्याटजीपीटी होइन, एआई मोडलहरू कृषि, स्वास्थ्य, सुशासन, विपद् व्यवस्थापन सबै क्षेत्रमा फरक–फरक रूपमा प्रयोग हुन्छन,’ उनी भन्छन् ।
रायका अनुसार नेपालमा एआई सीप निर्माणका लागि शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ । ‘एआईलाई तीन महिनाको भोकेसनल तालिमले पनि प्रारम्भिक स्तरमा सिक्न सकिन्छ,’ उनी भन्छन् । ‘तर यदि नेपालले ग्लोबल मार्केटमा जाने एआई प्रोडक्ट बनाउन चाहन्छ भने गहिरो विशेषज्ञता चाहिन्छ ।’
त्यसका लागि नेपालले विद्यालय स्तरदेखि नै एआई करिकुलम लागु गर्नुपर्छ प्लस टू र युनिभर्सिटीमा व्यावहारिक एआई विषय, प्रशिक्षक (टिचर) उत्पादन वा विदेशबाट भित्र्याउन आवश्यक रहेको उनी बताउँछन् ।
नेपालमा एआई निर्माणका लागि सबैभन्दा ठूलो चुनौती फिजिकल कम्प्युटिङ इन्फ्रास्ट्रक्चर रहेको राय बताउँछन् । ‘एआई डेभलपमेन्ट पुरानो कम्प्युटर ल्याबबाट सम्भव हुँदैन,’ उनी भन्छन,‘जीपीयु क्लस्टर, हाइ–परफर्मेन्स कम्प्युटिङ ल्याब नेपालमा छैन । त्यसैले फ्रन्टियर मोडेल बनाउने कुरा अहिले चुनौतीपूर्ण छ ।’
सफ्टवेयर पहुँच भने पर्याप्त रहेको उनी बताउँछन गुगल एआईस्टुडियो, माइक्रोसफ्ट कोपाइलट, ओपन एआइ कोडेक्स जस्ता प्लेटफर्म नेपालमै चलाउन सकिन्छ । नेपाली भाषामा आधारित लार्ज ल्याङग्वेज मोडल बनाउन सक्ने सम्भावना पनि धेरै रहेको उनको भनाई छ ।
यदि नेपाली एलएलएम बन्योभने हरेक कम्पनी, सरकारी सेवा, अस्पताल, रेष्टुरेन्ट सबैले एआईबाट ग्राहक व्यवस्थापन गर्न सक्छने उनको दाबी छ । जस्तै, एआई रिसेप्सनिस्ट राख्नेहो भने उसले एकै समयमा हजारौँ ग्राहकको फोन उठाउन सक्छ, वास्तविक समयमै डेटा इन्ट्री गर्छ, बहुभाषी संवाद गर्न सक्छ । यसले व्यवसायको लागत अत्यधिक घटाउने रायको विश्लेषण छ ।
डेटा सुरक्षामा खतरा
रायका अनुसार नेपालमा डिजिटल डेटा सुरक्षाको अवस्था अत्यन्त कमजोर छ । ‘नेपाली नागरिकको डेटा सुरक्षित छैन । हाम्रो डेटा हामीसँग छैन, विदेशी कम्पनीसँग छ,’ उनी भन्छन् । उनका अनुसार सरकारी वेबसाइटहरू सजिलै ह्याक हुनसक्छन, साइबर सुरक्षा मापदण्ड कमजोर छन, राष्ट्रिय स्तरको डेटा संरक्षणका कानून कडा हुनुपर्छ । अमेरिकी नागरिकको डेटा जति महत्वपूर्ण हुन्छ, नेपाली नागरिकको पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले यसका लागि नेपालले आफ्नो छुट्टै साइबर सुरक्षा मापदण्ड बनाउनु पर्ने उनले बताए ।
रायका अनुसार पहिलोपटक इतिहासमा कुनै पनि देशको आर्थिक आकार अब जनसंख्यामा निर्भर छैन । ‘पहिले जनसंख्या ठूलो भयो भने जीडीपी ठूलो बन्ने मान्यता थियो,’ उनी भन्छन । तर अबका दिनमा काराखनामा रोबोट, अफिसमा डिजिटल वर्कर र सफ्टवेयरले धेरै काम एआईले गर्ने उनले बताए ।
उनका अनुसार नेपाल सानो देश र सानो जनसंख्या भए पनि एआई प्रोडक्ट बनाएर विश्व बजार कब्जा गर्न सक्छ । सफ्टवेयर बेच्न देश ठूलो वा समुद्र छेउमा हुनु आवश्यक छैन । स्विजरल्यान्ड जस्तै सानो देशले विश्व बजारमा आफ्नो पहिचान मजबुत बनाएको उदाहरण पनि उनले दिए ।
नेपालमा स्टार्टअप इकोसिस्टम कमजोर भएकोले गभर्मेन्टले दीर्घकालीन इकोसिस्टम बनाउनु आवश्यक रहेको उनले बताए । रायका अनुसार नेपालमा भेन्चर क्यापिटल, एन्जल इन्भेस्टमेन्ट, स्टार्टअप इनक्युबेटर लगायत संरचना कमजोर छन् । नेपालमा सार्क ट्याङ्करजस्ता कार्यक्रम छन, तर त्यसले वास्तविक रुपमा प्रभाव नपारेको जस्तो हुन्छ । त्यसका लागि दीर्घकालीन स्टार्टअप इकोसिस्टम चाहिने उनको तर्क छ ।
उनका अनुसार नेपालमा विदेशी लगानी, भेन्चर क्यापिटल वातावरण, सिड फन्डिङ, इनक्युबेसन हब बनाउन सरकारले भूमिका खेल्नुपर्छ । युवाहरूले राष्ट्रीय र विश्व दुवै स्तरका समस्या समाधान गर्ने उद्यमशीलता अपनाउनुपर्छ । नेपाली युवा अब केवल ‘सरकारी रोजगारी’ वा ‘विदेश पलायन’ को बाटोबाट बाहिर आउनुपर्ने उनको धारणा छ ।
‘देशका सामाजिक–आर्थिक समस्या समाधान गर्ने सबैभन्दा प्रभावकारी माध्यम उद्यमशीलता हो,’ उनी भन्छन् । उनी इ–सेवाकै उदाहरण दिँदै भन्छन ‘इ–सेवाले क्यासलेस अर्थतन्त्र ल्यायो, ठूलो समस्या समाधान ग¥यो र ठूलो कम्पनी पनि बन्यो । त्यस्तै हामीले अरू समस्याहरू पहिचान गरेर समाधान दिनुपर्छ ।’
एआई नै विश्व अर्थतन्त्रको भविष्य
फिजिक्समा उच्च शिक्षा सम्मको अध्ययन पूरा गरी क्वान्टम फिजिक्समा अनुसन्धान गरेका रायसँग इन्टेल कर्पोरेसनमा कार्यरत रहँदै एआई वर्कलोड सपोर्ट गर्ने चिप आर्किटेक्चरमा पनि काम गरेको अनुभव छ । सन् २०२१ मा उनले क्यालिफोर्नियामा स्केल बिल्ड एआई स्थापना गरेर एआई प्रविधिमा आधारित नयाँ समाधानहरू विकास गर्न थालेका थिए ।
रायका अनुसार एआई अब भविष्यको प्रविधि मात्र नभई विश्व–अर्थतन्त्र परिवर्तन गर्ने मुख्य शक्ति बनेकाले नेपालजस्ता देशले यसबाट ठूलो लाभ लिन सक्ने सम्भावना छ, यदि समयमै आधारभूत नीति, पूर्वाधार र सीप विकासमा ध्यान दिन सकियो भने ।
न्युयोर्कमा बस्दै आएका वल्र्ड एआई एलायन्सका अध्यक्ष तथा सिथोस कर्पोरेसनका सिइओ रायले नेपालले एआई क्षेत्रमा समयमै लगानी र तयारी गर्न सके विश्वस्तरमै प्रतिस्पर्धी बन्न सक्ने विश्वास व्यक्त पनि व्यक्त गर्छन् । वल्र्ड एआई एलायन्समार्फत आफूले एथिकल एआई स्ट्यान्डर्ड, फ्रेमवर्क र गाइडलाइन विकास गर्दै आएको बताउँदै रायले कुनै पनि कम्पनीले एआई मोडेल सार्वजनिक गर्नु अघि त्यसले मानव अधिकार, गोपनीयता र सुरक्षामा कस्तो प्रभाव पार्छ भन्ने मूल्यांकन गर्नका लागि ‘एथिकल एआई टेस्ट’ अनिवार्य हुनुपर्ने बताए ।
उनका अनुसार एआई एलायन्सले विश्वका विभिन्न सरकार तथा गैर–सरकारी संस्थासँग सहकार्य गर्दै एआई नीतिनिर्माण र एआईलाई जिम्मेवार तथा सुरक्षित बनाउने प्रक्रियामा पनि सहयोग गर्दै आएको छ । यस्तै, उनी सिइओको रूपमा आबद्ध सिथोस कर्पोरेसनले कम्प्युटर भिजन प्रविधिमार्फत क्यामेरालाई नै बुद्धिमान सुरक्षा प्रणाली बनाउने काम गरिरहेको छ, जसले लाइभ भिडियोबाटै गतिविधि बुझेर सम्भावित खतरा पहिचान गर्न र रियल–टाइममा अलर्ट दिन सक्ने क्षमता राख्छ ।
प्रतिक्रिया