झापा : झापाको गौरादह नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
आज साँझ करिब ७ः२० बजे गौरादह नगरपालिका–४ स्थित रामचन्द्रे खोलाको पुल नजिक भित्री सडकखण्डमा गौरादहबाट स्कुलचौनतर्फ जाँदै गरेको प्र.न. १–०१–००१ त ९७२० नम्बरको ट्याक्टर अनियन्त्रित भई पुलबाट खोलामा खस्दा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा ट्याक्टरमा सवार सबै यात्रु घाइते भएका थिए।
घाइतेमध्ये मोरङको रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया स्वस्तिका मर्डीको उपचारका क्रममा मृत्यु भएको छ। उनलाई दुर्घटनापछि निम्स अस्पताल दमक लगिएको थियो। अस्पताल पुर्याइएको केही समयमै साँझ ७ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव सोही अस्पतालमा राखिएको छ।
दुर्घटनामा मोरङ रतुवामाई नगरपालिका–८ की ५० वर्षीया मुनीमती सतार (टाउको र चिउँडोमा चोट), १५ वर्षीया सन्तोषी किस्कु (बायाँ घुँडामा चोट), रतुवामाई–५ का ६० वर्षीय एतोबार मुर्मु (बाहिरी चोट नदेखिए पनि भित्री दुखाइ), २३ वर्षीया बिनिता मर्डी, २० वर्षीया सरिता मर्डी, तीन वर्षीय गंगाराम मर्डी, आठ वर्षीया मेलिना मर्डी तथा मोरङ सुनबर्षी नगरपालिका–२ की ३० वर्षीया शिला मर्डी घाइते भएका छन्। अस्पतालका अनुसार अधिकांश घाइतेको हातखुट्टामा सामान्य चोट लागेको र सबैको अवस्था सामान्य रहेको छ।
दुर्घटनालगत्तै प्रहरी चौकी महारानीझोडा र इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। ट्याक्टर चालक मोरङ रतुवामाई नगरपालिका–५ का २५ वर्षीय चमलाल मुर्मुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रतिक्रिया