झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर नगरपालिका–६ स्थित कालीखोला पुलमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
आज राति करिब ८ः१५ बजे काँकडभिट्टाबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको PB02BR7765 नम्बरको मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक मेचीनगर नगरपालिका–६ की अन्दाजी ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन्।
घाइते साहलाई तत्काल उपचारका लागि आम्दा अस्पताल, धुलाबारी लगिएको थियो। तर राति करिब ९ः१५ बजे चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।
दुर्घटनामा संलग्न ट्रक चालक भारतको पन्जाब राज्य, अमृतसर जिल्ला भोलेबाबा निवासी अन्दाजी ३६ वर्षीय सन्दीप सिंहलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ। दुर्घटनामा प्रयोग भएको ट्रक पनि प्रहरी नियन्त्रणमा रहेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रतिक्रिया