झापा : झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनसरी, इटहरी–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रङ्गेली–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरी रहेका छन् ।
आज बिहान करिब ९ः३० बजे विराटनगरबाट काँकडभिट्टा जाँदै गरेको सगरमाथा यातायातको प्र १–०१–००१ ख ४४५९ नम्बरको बस बिर्तामोड नगरपालिका–६, गिरिबन्धु टि–स्टेट अगाडि अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी इटहरी–११ का गुलशनराज शर्मा (३८), उनकी श्रीमती अंकिता शर्मा (३६), ६ वर्षीया छोरी मनसुइ शर्मा र ३७ वर्षीया बिनु शर्मा घाइते भएका छन् । मनसुइ र बिनु दुवैको टाउकोमा चोट लागेको छ ।
त्यस्तै, मोरङ विराटनगर–२ का सहचालक सोमकुमार भुजेल (४२), पाँचथर कुम्मायक–६ की गङ्गा लिम्बू (२८), झापा कमल–७ का ८ वर्षीय लोजिहाङ लावती, २३ वर्षीया सुहाना लिम्बू र ५ वर्षीय मेङ्सो लिम्बू पनि घाइते भएका छन् ।
यस्तै विराटनगर–१ की १७ वर्षीया अनुषा भट्टराई, ३६ वर्षीया मञ्जु खतिवडा, झापा दमक–१ की ६० वर्षीया राधिका खतिवडा र ताप्लेजुङ, फाक्तालुङ–१ का राकेश लिम्बू समेत घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये केहीको हात, खुट्टा र अनुहारमा सामान्य चोट लागेको छ भने अन्यको अवस्था मध्यम छ । उनीहरूलाई बीएन्डसी अस्पतालमा उपचारको लागि लगिएको छ ।
प्रतिक्रिया