प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

शुक्रबार, १८ पुस २०८२

म्याग्दी । धवलागिरि गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु एक लाखभन्दा बढी आम्दानी गरेकी छन् ।

ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्माकुमारी आचार्यले उत्पादन गरेको प्याजको बिरुवा धवलागिरि र मालिका गाउँपालिकाका साथै पोखरासम्म बिक्री भएको हो । उनले गत कात्तिक दोस्रो साता छ किलोग्राम प्याजको बीउ जमाएकी आचार्यले पुस दोस्रो हप्तासम्म रु एक लाखको बिरुबा बिक्री भएको बताइन् ।

“पहिलो चरणमा उत्पादन गरेको बिरुवा बिक्री हुने अन्तिम चरणमा छ, माघमा लगाउनका लागि बिरुवाको माग आएपछि थप बीउ जमाएको छु”, उनले भनिन्, “एक रोपनी क्षेत्रफल बारीमा उमारेको प्याजको बिरुवाबाट दुई महिनामै रु एक लाखको बिरुवा बिक्री भयो ।”

रु २५ हजार लगानी गरेकी आचार्यले सबै बिरुवा बिक्री गरिसक्दा करिब रु एक लाख ५० हजार आम्दानी हुने अनुमान गरेकी छन् । आचार्यले पछिल्लो तीन वर्षयता प्याजको बिरुवा उत्पादन गर्दै आएकी छिन् ।

उनको नर्सरीमा उत्पादन भएको प्याजको बिरुवा धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, ताकम, धारापानी, मराङ, मल्कवाङ, मालिकाको देवीस्थान र बिमका साथै पोखरामा पनि बिक्री भएको छ । फोन गरेर माग गर्ने किसानले घरबाटै खातामा पैसा पठाइदिन्छन् । बिरुवालाई प्याक गरेर गाडीमा राखेर किसानलाई पठाउने गरेकी छिन् । एक मुठा प्याजको बिरुवा रु एक सयका दरले बिक्री भएको छ । सानो बिरुवा दुई सय र ठुला बिरुवा एक सयभन्दा बढीको मुठा बनाउने गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार