इटहरी ।सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।
गएराति करिब १ बजे सशस्त्र प्रहरी बलको बेस क्याम्प (बीओपी) लौकहीले गोली चलाउँदा कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए।
प्रहरीका अनुसार ,भारतबाट चिनी लोड गरी सिटी सफारीमा ल्याउँदै गरेको अवस्थामा मृतक शाह माथी गोली चलाइएको हो। साहले आफ्नै सिटी सफारीमा ८-१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । तस्करी रोक्ने क्रममा गोली चलाउनु परेको सशस्त्रको दाबी छ । तर स्थानीयवासीले भने घटनाप्रति असन्तुष्टि जनाउँदै सेटिङको पैसा नदिँदा सशस्त्र प्रहरीले गोली प्रहार गरेको आरोप लगाएका छन । स्थानीयले शव उठाउन नदिई प्रदर्शन गरिरहेका छन्।
प्रहरीका अनुसार अहिले घटनास्थल तनावग्रस्त बनेको छ भने भीड नियन्त्रण गर्न अश्रुग्याँस समेत प्रहार गरिएको छ। घटनास्थलबाट गोलीको खोका फेला परेको र घटनाबारे विस्तृत अनुसन्धान हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यस अघि प्रकाशित समाचारमा 'सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु' हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । - सम्पादक
प्रतिक्रिया