श्रद्धा सहित पूजा गरिने माई खोलामा होटलवालाको शौचालय

शनिबार, १५ कार्तिक २०८२

इलाम : इलाममा चार वटा माई छन् । सबै माई (माई, पुवामाई, देउमाई र जोगमाइ) लाई आस्था विश्वास सहित पूजाआजा गर्ने गरिन्छ । तर मेची राजमार्ग अन्तर्गत पर्ने इलाम नगरपालिका–१० गोलकस्थित राज दुवाली क्षेत्रमा सञ्चालित होटल र घरधनीहरूले फोहोर सोही खोलामा फ्याँक्ने गरेका छन् । होटल र घरहरूबाट निस्किने फोहोर तथा शौचालयको फोहोर समेत सोझै खोलामा फ्याँकिने गरिएको छ।

माई खोलामा विभिन्न स्थानबाट मानिसहरू भाकल बुझाउन र पूजाआजा गर्न आउने गर्दछन् । माई खोला राज दुवाली पुल माथि त ठिकै छ सो भन्दा मुनीको पानी मुखमा हाल्न नै नमिल्ने खालको भएको माईमा दर्शन गर्न आउनेहरूको भनाई छ । खोलामा शौचालयको फोहोर मिसाइँदा प्रदूषण समेत बढेको भन्दै स्थानीय निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ । 

गत असोज १८ गते राज दुवाली खण्डमा पहिरो गएपछि बाटो मर्मतका क्रममा खोलामा रोडा निकाल्ने काम गर्न पुगेका सर्वसाधारणले पनि होटल तथा घरधनीहरूले फोहोर सिधै खोलामा हाल्ने गरेको देखेका थिए।

हाल पनि त्यहाँका घरधनीहरूले दैनिक रूपमा घरको फोहोर खोलामै फाल्ने गरेका छन्। यस्तो लापरबाहीका कारण खोलाको पानी दुर्गन्धित बनेको र आसपासको वातावरणमा असर परेको स्थानीयले बताएका छन्।

पर्यावरणविद्हरूका अनुसार फोहोर खोलामा मिसाउँदा जलस्रोत मात्र होइन, त्यस वरपरको माटो र बोटबिरुवाको समेत दीर्घकालीन हानि हुने गर्दछ। स्थानीय सरसफाइ र वातावरण संरक्षणका लागि तत्काल निगरानी र कारबाही आवश्यक रहेको उनीहरूको भनाइ छ। सो क्षेत्रका बासिन्दाले गर्दै आएको सो कार्य रोक्न लगाउन आवश्यक रहेको बताइएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार