कारागारबाट फरार कैदीसहित पाँच जना लागुऔषध प्रयोगकर्ता पक्राउ

आइतबार, १६ कार्तिक २०८२

कर्णाली : सुर्खेत प्रहरीले काठमाडौं कारागारबाट फरार एक कैदीसहित पाँच जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौं कारागारबाट फरार भएका जगन्नाथ देवल रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मोहनजङ्ग बुढ्थापाले देवललाई पक्राउ गरी थप कैद भुक्तानका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको जानकारी दिए।

त्यसैगरी, प्रहरीले वीरेन्द्रनगर नगरपालिका–७, ८, ११ र १२ नं वडाबाट पाँच जना लागुऔषध प्रयोगकर्तालाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वडा नं ७ निवासी ३० वर्षीय नरेन्द्र ठाडा, वडा नं ८ की १९ वर्षीय ललिता तामाङ र १८ वर्षीय रमेश सुनार, वडा नं ११ का २० वर्षीय विशाल ठाडा मगर र वडा नं १२ का २२ वर्षीय राजु सुनार रहेका छन्।

प्रवक्ता बुढ्थापाका अनुसार नरेन्द्र र ललिताबाट ५३० मिलिग्राम तथा रमेश, विशाल र राजुबाट दुई ग्राम लागुऔषध ‘ब्राउनसुगर’ बरामद गरिएको छ।

गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको क प्र ०२–००१ ज ०७०९ नंको इभी गाडी रोकेर चेकजाँच गर्दा ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार