काठमाडौँ : युरो एसिया एजुकेसन कन्सल्टेन्सी, लैनचौरका सञ्चालक सूर्यबहादुर डाँगी पक्राउ परेका छन्। उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायतलगायत देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार उदयपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्दै आएका डाँगीलाई सोमबार उनकै कार्यालयबाट पक्राउ गरिएको हो।
डाँगीविरुद्ध विद्यार्थीहरूबाट २६ लाख ८ हजार ५६५ रुपैयाँ ठगी गरेको उजुरी परेको छ।
बस्नेतका अनुसार ती देशहरूमा पठाउन कलेज शुल्क, बिमा नीतिलगायतका भुक्तानी इन्टरनेसनल डलरमार्फत गर्दा छिटो र सहज हुने भन्दै उनले आफ्नै खातामा रकम जम्मा गर्न लगाउँथे। तर, सम्बन्धित विश्वविद्यालय तथा इन्सुरेन्स कम्पनीमा भुक्तानी गरेको कुनै प्रमाण उपलब्ध गराउँदैनथे।
झुटो आश्वासन दिएर विद्यार्थीलाई विश्वासमा पारी ठुलो रकम सङ्कलन गरेको उजुरीपछि डाँगीलाई पक्राउ गरिएको बस्नेतले बताए। थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
प्रतिक्रिया