कोलम्बियामा नेशनल लिबरेशन आर्मी (ईएलएन) विद्रोही समूहविरुद्ध अभियान गर्दा अपहरण गरिएका १८ सैनिकहरू स्थानीय बासिन्दा र क्याथोलिक चर्च तथा मानवअधिकार कार्यालयको सहयोगमा रिहा भएका छन् ।
रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, ती सैनिकहरूलाई उत्तरपश्चिमी चोको विभागमा करिब २०० व्यक्तिले घेरेर जबर्जस्ती एक आदिवासी आरक्षणमा लगिएको थियो ।
स्थानीय बासिन्दाहरूले सोमबार सैनिकहरूलाई क्याथोलिक चर्च र मानवअधिकार संरक्षण कार्यालयका प्रतिनिधिहरू मिलेर बनाएको मानवीय आयोगलाई हस्तान्तरण गरेका थिए । सैनिकहरू त्यसपछि चोकोको राजधानी क्विबडो तर्फ लगे ।
मानवअधिकार संरक्षण कार्यालयले सार्वजनिक गरेको भिडियोमा सैनिकहरूले आफ्नो युद्धक सामग्री र हतियार सङ्कलन गर्दै गरेको देखाइएको छ ।
ईएलएन समूह कोलम्बियाका मुख्य लागूपदार्थ उत्पादन गर्ने क्षेत्रहरूमा नियन्त्रण जमाएका छन् । देशले पछिल्लो दशकमा सबैभन्दा गम्भीर सुरक्षा सङ्कट भोगिरहेको छ, जसमा अपहरण, कर तिर्न बाध्य पार्ने र अवैध खानीबाट फाइदा लिने अपराधी समूहको गतिविधि मुख्य कारण बनेको छ ।
ईएलएन सन् १९६४ मा स्थापना भएको हो । शान्ति वार्ता असफल भएपछि यो समूह वर्तमान वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोलाई चुनौती दिइरहेको छ ।
पेट्रो प्रशासन र ईएलएन बीचको वार्ता गत वर्षदेखि रोकिएको छ ।
गत हप्ता ईएलएनले सुरक्षा बलमाथि दुई आक्रमण गरेको थियो, जसमा दक्षिणपश्चिमी शहर कालीमा भएको एक आक्रमणमा नौ प्रहरी र सैनिकको मृत्यु भएको थियो ।
कोलम्बियामा सरकारको नियन्त्रण नभएका क्षेत्रमा सैनिक र प्रहरी कर्मीहरू अस्थायी रूपमा नियन्त्रणमा लिनु सामान्य घटना हो ।
प्रतिक्रिया