काठमाडौँ : प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ। मंगलबार हस्ताक्षरसहितको पूरक रिट वारेसमार्फत दर्ता गरिएको हो।
पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले ६८ सांसदको हस्ताक्षर दर्ता भएको जानकारी दिँदै भोलि संवैधानिक इजलासमा पेसी तोकिएको बताए। यसअघि कांग्रेसका ८ सांसदले मंसिर २३ गते रिट दर्ता गरेका थिए भने अहिले थप ६० सांसदको हस्ताक्षर थपिएको हो।
कांग्रेसबाहेक जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन्। यसअघि एमालेका ७५ सांसदले पनि प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन्।
हालसम्म हस्ताक्षर गर्ने सांसदको संख्या १४३ पुगेको छ, जुन २७५ सदस्यीय प्रतिनिधिसभाको बहुमत हो। रिटमा प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको दाबी गर्दै संसद्भित्रैबाट नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउन परमादेशको माग गरिएको छ।
प्रतिक्रिया