इटहरी उपमहानगरको एक्सन : अलपत्र योजना छाड्ने ठेकेदारलाई १५ दिने अल्टिमेटम

ठेकेदारमाथि कालोसूचीदेखि ठेक्का रद्दसम्मको चेतावनी

मंगलबार, ०८ पुस २०८२

इटहरी : विकास निर्माणका महत्त्वपूर्ण योजनाहरू अलपत्र पारेर ठेकेदारहरू सम्पर्कविहीन बन्दै गएपछि इटहरी उपमहानगरपालिकाले कडा कदम चालेको छ। पटक–पटकको ताकेता र सूचना बेवास्ता गरेपछि उपमहानगरले ७ वटा निर्माण कम्पनीलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

उपमहानगरका अनुसार तोकिएको समयभित्र स्पष्टीकरण चित्तबुझ्दो नआए सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ अनुसार कालोसूचीमा राख्ने, जरिवाना गर्ने, जमानत जफत गर्ने र ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाइनेछ। ठेकेदारको लापरबाहीका कारण सर्वसाधारणको दैनिकी प्रभावित हुनुका साथै विकास बजेट समेत जोखिममा परेको उपमहानगरको ठहर छ।

उपमहानगर स्रोतका अनुसार सडक, पुल, पार्क, अस्पताल र सङ्ग्रहालयजस्ता महत्त्वपूर्ण पूर्वाधार निर्माण कार्य अधुरो अवस्थामा छाडिएका छन्। समयमै काम सम्पन्न नहुँदा बजेट फिर्ता जाने र स्थानीय नागरिक आवश्यक सेवा–सुविधाबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ।
“ठेकेदारहरूको दया–मायामा विकास निर्माण छोड्न सकिँदैन,” उपमहानगरका एक कर्मचारीले भने। यसअघि भदौ १ गते सूचना जारी गरी सम्पर्कमा आउन आग्रह गरिए पनि सम्बन्धित कम्पनीहरूले बेवास्ता गरेका थिए।

१४ वटा योजना अलपत्र

उपमहानगरका अनुसार सम्बन्धित कम्पनीहरूले कुल १४ वटा योजनाहरू अलपत्र पारेका छन्। ती योजनामा सडक कालोपत्रे, पुल निर्माण, पार्क विकास र सार्वजनिक संरचनाहरू समावेश छन्।

प्रमुख अलपत्र योजनाहरू यस्ता छन् :

  • गिरी कन्स्ट्रक्सन प्रा.ली. (हात्तिवन, ललितपुर)
    इटहरी–१७ लबीपुर मजाह्रा सडक, जतपुर–बिसनपुर पर्खाल निर्माण, बिसनपुर–अमाहा सडक ग्राभेल, इटहरी–१४ हुलाकी सडक राधाकृष्ण मार्ग स्कुल टोल कालोपत्रे, इटहरी–८ सतनमार्ग कालोपत्रे।
    (सबैभन्दा बढी ५ योजना अधुरो)

  • अनु निर्माण सेवा (भोजपुर)
    इटहरी–२० धनपुरी मार्ग सडक कालोपत्रे तथा टेङ्ग्रा खोला कोरिडोर रिटर्निङ वाल निर्माण।
    (काम नै सुरु नगरी अलपत्र)

  • श्री अङ्कित कन्स्ट्रक्सन (सिराहा)
    इटहरी–६ सार्वजनिक स्मार्ट शौचालय र इटहरी–१६ हक्राहा खोलाको बक्स पुल।
    (शौचालय बने पनि सञ्चालनमा नआएको)

  • प्रेरा पूर्णचण्डी गिरी जे.भी. (हात्तिवन, ललितपुर)
    इटहरी–१० आदिवासी जनजाति सङ्ग्रहालय।
    (२०७८ मा सम्झौता, हालसम्म १६.७२ प्रतिशत मात्र प्रगति)tharu-shangralaya_nZP2vGn3yf

  • एम.के. कन्स्ट्रक्सन (सिराहा)
    इटहरी–१६ गोइदा खोलाको पुल।

  • भैरव–नारायण जे.भी. (नेपालगन्ज, बाँके)
    इटहरी–१५ भोटिया खोलाको पुल।

  • आर.वन कन्स्ट्रक्सन (इटहरी)
    खनार प्रहरी चौकी–भानु मार्ग सडक।

  • प्रतिष्ठा गिरी जे.भी.
    इटहरी–९ मा निर्माणाधीन १५ शय्याको इटहरी अस्पताल भवन।
    (६५ प्रतिशत काम सम्पन्न, बाँकी ३५ प्रतिशत अनिश्चित)

उपमहानगरका अनुसार गिरी कन्स्ट्रक्सन, प्रेरा पूर्णचण्डी गिरी र प्रतिष्ठा गिरी जे.भी. एउटै व्यक्ति कुमार गिरीसँग सम्बन्धित छन्। उनले विभिन्न नामका कम्पनीमार्फत ७ वटा ठेक्का लिएको पाइएको छ। गिरीले स्पष्टीकरणमा समयमै भुक्तानी नपाएको र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण काम ढिलाइ भएको दाबी गरेका छन्।

उपमहानगरको प्रतिबद्धता

यसअघि पनि उपमहानगरको कडा कदमपछि केही ठेकेदार काममा फर्किएका उदाहरण छन्। यसपटक भने उपमहानगरले कानुनी प्रक्रिया अनुसार कडाइका साथ कारबाही अघि बढाउने स्पष्ट पारेको छ।मेयर हेमकर्ण पौडेलले भने, “कानुनका छिद्र प्रयोग गरेर धेरै ठेक्का लिने र अलपत्र पार्ने प्रवृत्ति अब सह्य हुँदैन। विकासमा ढिलासुस्ती गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही हुन्छ।”

thekka 1thekka 2
 

 

प्रतिक्रिया

खेमराज सापकोटा
लेखकको बारेमा
खेमराज सापकोटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार