इटहरी : इटहरी उपमहानगरपालिका–१३ खनारमा बुधबार साँझ मदिरा सेवन पछि भएको झडपमा चारजना घाइते भएका छन्। प्रहरीले घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पताल पठाएको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ५ः३० बजे घरमै मदिरा सेवन गरी बसेका छिमेकीहरूबिच सामान्य भनाभन हुँदै आपसमा कुटपिटमा परिणत भएको थियो।
झडपमा ६५ वर्षीय पवन सरदार, ५५ वर्षीया सानीदेवी सरदार, २३ वर्षीय नितेश सरदार र २८ वर्षीय रितेश सरदार घाइते भएका छन्।
विराट मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएका घाइतेमध्ये पवन सरदार र नितेश सरदारको अवस्था सामान्य रहेको छ भने सानीदेवी र रितेशको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी चौकी खनारका प्रहरी नायव निरीक्षक प्रह्लाद बोगटीको कमाण्डमा टोली खटाइएको थियो।
प्रहरीका अनुसार घटना स्थल चौकीबाट करिब डेढ किलोमिटर पश्चिमतर्फ रहेको छ र कुटपिटमा संलग्न व्यक्तिहरूको पहिचान र खोजतलास कार्य जारी छ।
प्रतिक्रिया