काठमाडौँ : सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको सय दिन पुगेलगत्तै जेनजी अभियन्ताहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । जेनजी आन्दोलनको जगमा बनेको सरकारले आफ्ना भावना र माग दुवै नसमेटेको निष्कर्ष निकाल्दै अभियन्ताहरू सर्वपक्षीय तथा गैरदलीय नेतृत्वको सरकार गठनको प्रयासमा लागेका हुन् ।
जेनजी अभियानसँग जोडिएका विभिन्न समूहले थालेको यस प्रयासमा केही राजनीतिक दल र ‘नागरिक समाजका अगुवा’समेत सहभागी भई अभियानलाई मूर्त रूप दिन सक्रिय भएका छन् ।
कार्की नेतृत्वको सरकारले जेनजीका माग सम्बोधन गर्न असफल भएको निष्कर्षसहित यो सरकार हटाएर नयाँ सरकार निर्माण गर्ने उद्देश्यले अभियन्ता मिराज ढुङ्गाना, विकेश साहसहितको समूहले सोमबार (आज)बाट सडक आन्दोलनको घोषणा गरेको छ ।
पूर्वप्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री कार्की नेतृत्वको सरकार असफल र असक्षम भएको निष्कर्षसहित जेनजी अभियन्ता, केही राजनीतिक दल र नागरिक अगुवाहरूको सक्रियतामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई सरकारको नेतृत्वमा ल्याउने बहस पुनः सतहमा आएको छ । श्रेष्ठको नाममा सहमति नजुटेमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरादेखि वर्तमान प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसम्मलाई विकल्पका रूपमा अघि सार्ने गृहकार्य भइरहेको बताइएको छ ।
‘जेनजी आन्दोलनको जगमा सुशीला सरकार बन्यो तर यस सरकारले जेनजी आन्दोलनका माग सम्बोधन गर्न असफल भयो । सय दिन त्यसै खेर गयो । संविधान संशोधन नगरी २०८४ सालमा हुनुपर्ने निर्वाचन २०८२ सालमा गराउन जनविद्रोह भएको होइन,’ स्रोतले भन्यो, ‘त्यसैले असफल र असक्षम सुशीला सरकार हटाई सर्वपक्षीय सरकार गठन अहिलेको आवश्यकता हो । यसको नेतृत्व कल्याण श्रेष्ठजस्ता व्यक्तिले गर्नुपर्छ । अरू पनि योग्य व्यक्ति छन्, त्यसबारे छलफल हुँदैछ तर पहिला यो सरकार हट्नुपर्छ ।’
सुशीला कार्की नेतृत्वको सरकारप्रति पूर्वप्रधानन्यायाधीश श्रेष्ठ मात्र होइन, राजनीतिक दलहरूसमेत असन्तुष्ट रहेको बताइएको छ । राजनीतिक दल, नागरिक समाज र जेनजीसहितको अर्को सर्वपक्षीय सरकारले मात्रै संविधान संशोधनदेखि जेनजीका माग सम्बोधन र निर्वाचन गराउन सक्ने दाबी गरिएको छ ।
जेनजीलाई अघि सारेर सुरु गरिएको नयाँ राजनीतिक कोर्सअन्तर्गत काँग्रेस र एमालेले सरकारलाई थप दबाब दिन विघटित प्रतिनिधिसभाका बहुमत सांसदको हस्ताक्षरसहित संसद् पुनर्स्थापना लागि पूरक निवेदन लिएर सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
जेनजी अभियन्ता र केही नागरिक अभियन्ताले जेनजीलाई नजिकबाट सघाइरहेका तथा सरकारका गतिविधिमा हस्तक्षेप बढाइरहेका सुदन गुरुङलाई समेत कार्की सरकारविरुद्ध उभ्याउन सफल भएका छन् । सरकार अपदस्थ गर्ने अभियानअनुसार गुरुङले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र मन्त्रीका स्वकीय सचिव धिरज जोशीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
तीनै जनाको फोन नम्बर सार्वजनिक गर्दै गुरुङले जेनजी प्रतिनिधि र सरकारबीच भएको सम्झौता कार्यान्वयन नभए फोन गरेर दबाब दिन आह्वानसमेत गरेका छन् । पछिल्ला दिनहरूमा गुरुङ गृहमन्त्रीविरुद्ध निरन्तर आक्रोश व्यक्त गर्दै आएका छन् ।
कार्की नेतृत्वको सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू विवादित बनेको, परिवारका सदस्य र आफन्तलाई मात्रै प्राथमिकता दिएको तथा जेनजीका माग बेवास्ता गर्दै राजनीतिक दलका एजेन्डाअनुसार निर्वाचनको मात्र रटान गरेको आरोप जेनजी अभियन्ताहरूको छ । यही कारण उनीहरू सरकारको विकल्प खोज्ने निष्कर्षमा पुगेका हुन् ।
‘हो, हामी अब सुशीला कार्कीको निरन्तरताको पक्षमा छैनौँ,’ एक जेनजी अभियन्ताले राजधानीसँग भने, ‘उहाँले मार्गप्रशस्त गरेपछि विवादरहित व्यक्तिलाई अघि सारेर सर्वपक्षीय सहमतिसहित जेनजीका माग पूरा गर्ने प्रतिबद्धतासहितको नयाँ सरकार गठनबारे छलफल भइरहेको छ । दलका युवा पुस्तादेखि नागरिक अगुवासम्मले प्रस्तावित व्यक्ति र एजेन्डामा परामर्श दिइरहनुभएको छ ।’
आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जेनजी अभियन्ता मिराज ढुङ्गानाले वर्तमान सरकारले जेनजी आन्दोलनको नेतृत्व गर्न नसक्ने दाबी गरे । जेनजीका माग पूरा गर्न असफल सरकारले आन्दोलनको नेतृत्व गर्न नसक्ने भन्दै उनले सडकबाटै सुशीला सरकार हटाउने चेतावनी दिए ।
जेनजी आन्दोलनलाई धोका दिइएको आरोप लगाउँदै उनले सर्वपक्षीय सरकार गठनको माग गरे । ‘सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म बोक्न सकेन । २०८४ सालको निर्वाचन २०८२ सालमा सार्न आन्दोलन भएको थिएन,’ ढुङ्गानाले भने, ‘यस सरकारले निकास दिने काम गरेको देखिँदैन । सुशीला किन निर्वाचनको मात्रै रट लगाइरहनु भएको छ ?’
उनले समस्याको सही समाधान नखोजिए नेपाल बङ्गलादेशजस्तो स्थितिमा पुग्न सक्ने आशङ्कासमेत व्यक्त गरे ।
सोही कार्यक्रममा जेनजी अभियन्ता एवं कमन जेनजीका अध्यक्ष विकेश साहले अहिलेको व्यवस्थामा कुनै पनि सार्थक सुधार नभएको बताए । जेनजी विद्रोह एउटा निर्वाचन गराउनका लागि मात्रै नभएको उल्लेख गर्दै उनले सुशीला नेतृत्वको असफल सरकारको आवश्यकता नरहेको टिप्पणी गरे ।
पत्रकार सम्मेलनमा देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरिएको छ । व्यवस्थागत परिवर्तन, जेनजी हत्यारालाई कारबाही, भ्रष्टाचारविरुद्ध कठोर कदमलगायतका माग अघि सारिएका छन् । विकास र निकासका लागि सर्वपक्षीय सरकार नै अहिलेको आवश्यकता भएको जेनजी अगुवाहरूले बताएका छन् ।
प्रतिक्रिया