इटहरी : बालबालिकाको भविष्य निर्माणमा घर र विद्यालय दुवैको उत्तिकै भूमिका रहन्छ। पुसको पहिलो साता, इटहरी नगरपालिकास्थित मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलमा अभिभावकसँग विशेष संवाद कार्यक्रमको आयोजना गरिएको थियो।
स्कुलले आयोजना गरेको “सकारात्मक अभिभावकत्व गोष्ठी”मा अभिभावकहरूले आफ्ना छोराछोरीको हुर्काइ र सिकाइका क्रममा भोगेका विविध समस्याहरू खुलस्त रूपमा राख्नुभयो।
उक्त अवसरमा स्कुलका प्रधानाध्यापक पदमराज सापकोटाले गोष्ठी आयोजना गर्नुको उद्देश्य प्रकाश पार्नुभयो। प्रधानाध्यापक सापकोटाले भने—“मोर्डन प्रिपेटरी स्कुलमा मैले कार्यभार सम्हालेको दिनदेखि नै विद्यालय परिवारले छलफल गरेर निर्णय गर्यो कि बदलिँदो समयमा बालबालिकालाई नयाँ दृष्टिकोणले हुर्काउनु आवश्यक छ।
भर्खरै देशमा ‘जेन–जी’ आन्दोलन भएको थियो। हाल हाम्रो विद्यालयमा ‘जेन–अल्फा’ छन्, जो १६ वर्षभन्दा कम उमेरका बालबालिका हुन्। जन्मनासाथ मातापिताको कोखमा भएका ‘जेन–बेटा’ पनि अहिलेको समयको विशेषता हुन्।

अब सवाल यो छ—यी जेन–अल्फा बालबालिकाको विशेषता कस्तो छ र अभिभावकहरूले उनीहरूको परवरिशका लागि कस्तो तयारी गर्नुपर्छ? पुरानै परम्परागत शैली अपनाउने कि समयसापेक्ष नयाँ विधि अपनाउने? यसको उत्तर पाउन विज्ञहरूसँग सल्लाह लिन आवश्यक छ।
आज हामी मोबाइल प्रयोग गर्छौँ, र हरेक हप्तामा एपहरू अपडेट हुन्छन्। हाम्रो घर–परिवार र विद्यालय पनि एउटा सफ्टवेयरजस्तै हो, जसमा समयसापेक्ष अपडेट आवश्यक छ। यदि हामी अपडेट नहुनुभयो भने आउटडेटेड बन्न पुग्छौँ। त्यसैले घर र विद्यालय दुवै अभिभावकबिच सहकार्य अनिवार्य छ। हाम्रो बोली, व्यवहार र विचारमा एकरूपता हुँदा मात्रै बालबालिकाको विकास सफल हुन्छ। बालबालिकाको शिक्षा, अनुशासन र जीवन कौशलमा नम्बर र ग्रेड भन्दा बढी महत्त्व छ।”
प्रधानाध्यापक सापकोटाले यसरी फोरम ओपन गरेपछि, अभिभावकहरूको धारणा बुझ्न केही प्रश्न राखियो र उनीहरूले आफ्ना अनुभव र समस्या साझा गर्नुभयो।
कार्यक्रममा अभिभावकहरूले छोराछोरीको पढाइ, व्यवहार र सामाजिक बानीका बारेमा निम्न जिज्ञासा राख्नुभयो:
अभिभावक १: मेरो नानी पढ्छ तर तुरुन्तै बिर्सन्छ।
अभिभावक २: क्लास सिक्सकी छोरीको पढाइ ठिक छैन, घरमा सिकाए पनि दिमागमा बस्दैन।
अभिभावक ३: मेरो नानी पढ्नमा ट्यालेन्टेड छ तर झुट बोल्ने बानी छ।
अभिभावक ४: क्लास थ्रीका छोराको केयरलेस बानी छ; सामान राख्न, पढ्न वा अनुशासन पालना गर्न कठिनाइ छ।
अभिभावक ५: क्लास फोरकी नानी पढ्नमा राम्रो छ तर मोबाइलमा धेरै समय खर्च गर्छ र जिद्दी हुन्छ।
अभिभावक ६: क्लास सेभेनकी छोरीले गृहकार्य गरिसकेको भन्छ, तर पाठ बुझाउन र रिभिजन गर्न शिक्षकलाई अझ समय चाहिन्छ।
अभिभावक ७: युकेजीकी छोरी स्कुलमा राम्ररी व्यवहार गर्छ तर घरमा अटेरी र जिद्दी हुन्छ।
बालबालिकाको भिन्न क्षमता र आइक्यु अनुसार उनीहरू पाँच प्रकारका हुने गर्छन्। प्रारम्भिक र उत्तर बाल्यावस्थामा झुट बोल्नु सामान्य हो; यसले सिर्जनात्मकता विकास गर्छ। तथापि, पछाडि पनि झुटो बानी लागेमा व्यवहारिक उपायले सुधार गर्न सकिन्छ।
अनुशासनमा ‘जे रोप्यो त्यही फल्ने’ सिद्धान्त लागू हुन्छ। हिंसा सिकाए बालबालिकाले पनि हिंसा सिक्छन्; प्रेम सिकाए प्रेम सिक्छन्। बालबालिकाका सकारात्मक र नकारात्मक संवेग बुझेर सुन्नु नै उनीहरूको स्वतन्त्रताको सम्मान हो।
सामान्य समस्याहरू शिक्षक र अभिभावकको व्यवहारले सुधार गर्न सकिन्छ। जटिल समस्या भएमा मनोविद् वा चिकित्सकको सल्लाह आवश्यक पर्छ। मोबाइल र प्रविधिको युगमा अभिभावक शिक्षा अझ आवश्यक छ।
मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलले यस अभियानमा अभिभावकहरूसँग सधैँ हातेमालो गर्न तयार रहेको सन्देश दिएको छ। अन्य विद्यालयले पनि यही मार्ग अनुसरण गर्न आवश्यक छ।
प्रतिक्रिया