इटहरी : उच्च शिक्षामा अनुसन्धान, नवप्रवर्तन र स्थायित्वलाई केन्द्रमा राख्दै इटहरी शनिबारदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक बहसको केन्द्र बनेको छ। जनता बहुमुखी क्याम्पसको आयोजनामा सुरु भएको दुईदिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले इटहरीलाई पूर्व नेपालको शैक्षिक हबका रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण सन्देश दिएको छ।
सम्मेलनको उद्घाटन पूर्व रक्षामन्त्री डा. मिनेन्द्र रिजालले गर्दै समयअनुकूल अध्ययन र अनुसन्धानबिना देशको शैक्षिक तथा सामाजिक रूपान्तरण सम्भव नहुने बताए। “अनुसन्धानले देखाएको बाटो समातेर अघि बढे मात्र देश परिवर्तनको दिशामा जान सक्छ,” उनले जोड दिए।
सम्मेलनको पहिलो दिन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसे, सीईएनएएसका कार्यकारी निर्देशक डा. मिर्गेन्द्र कार्की तथा अमेरिकी दूतावास अन्तर्गत क्षेत्रीय अंग्रेजी भाषा कार्यालयका रोजर एफ. कोहेनलगायतका विज्ञले कि–नोट प्रस्तुति दिएका छन्। सम्मेलनमा मानविकी, शिक्षा, व्यवस्थापन र भाषाशिक्षण क्षेत्रका ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिँदै छन्।
सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलका अनुसार सम्मेलनले शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता र सरोकारवालाबीच अन्तरविषयक सहकार्य र समकालीन चुनौतीप्रति साझा दृष्टिकोण निर्माण गर्न योगदान पुर्याउनेछ।
स्थानीय तहको तर्फबाट बोल्दै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले यस्ता शैक्षिक कार्यक्रमले इटहरीको दीर्घकालीन शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए। जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले शिक्षाको सुधारमार्फत नै राजनीतिक र सामाजिक वितृष्णा कम गर्न सकिने धारणा राखे।
निजी क्षेत्रको योगदानः ५१ लाखको अक्षयकोष
सम्मेलनले शैक्षिक बहससँगै सामाजिक उत्तरदायित्वको उदाहरण पनि प्रस्तुत गरेको छ। इटहरीका उद्योगी–व्यवसायी भीमबहादुर पौडेलले जनता बहुमुखी क्याम्पसमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि ५१ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरे।
धनकुटाको मारेकटहरेबाट व्यापार यात्रा सुरु गरेका पौडेल आज पूर्वी नेपालका अग्रणी उद्यमीका रूपमा परिचित छन्। नुन व्यापारबाट सुरु भएको उनको व्यवसाय ढुवानी, निर्माण, होटल, पर्यटन र सामाजिक पूर्वाधारसम्म फैलिएको छ। इटहरीको मुक्तिधाम पुनर्निर्माणदेखि विद्यालय, सडक, पार्क, खेलकुद पूर्वाधार र सुधार केन्द्रसम्म उनको योगदान फैलिएको छ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीका अनुसार सम्मेलन र अक्षयकोषले जनता बहुमुखी क्याम्पसलाई मात्र नभई समग्र क्षेत्रका सामुदायिक कलेजलाई मार्गदर्शन गर्ने भूमिका खेलेको छ।
विदेशका चार देशबाट आएका वक्ता र देशभरका नामी शैक्षिक विज्ञको उपस्थितिसँगै सम्पन्न भइरहेको सम्मेलनले इटहरी अब केवल औद्योगिक केन्द्र मात्र नभई शिक्षा र अनुसन्धानको केन्द्र बन्दै गएको स्पष्ट संकेत दिएको छ।
प्रतिक्रिया