भक्तपुर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार बनाउँदा कुनै एउटाको पक्ष वा विपक्ष नरही निष्पक्ष समाचार सम्प्रेषण गरिदिन सञ्चार माध्यमलाई निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आग्रह गरेका छन।
कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले जनक शिक्षा सामग्री केन्द्र लिमिडेड सानोठिमीमा सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमाध्यमबाट एकतर्फी र एकपक्षीय ढङ्गले अर्को उम्मेदवारलाई प्रभाव पर्ने गरी समाचार वा विचार व्यक्त नगर्न र निष्पक्ष सामग्री बनाइदिन आग्रह गरेका हुन् ।
देशभर निर्वाचनमय वातावरण बनिरहेको अवस्थामा निर्वाचनको अन्तिम चरणमा आइरहँदा समाचारलाई भन्दा आफ्ना विचारलाई सम्प्रेषण गर्दा पनि पक्ष वा विपक्ष नगरिदिन समेत भण्डारीले सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
आचारसंहिता उल्लङ्घनमा परेका उजुरीमाथि छानबिन र कारबाही अगाडि बढाएको भन्दै भण्डारीले अचारसंहिता लागू भए वा भएन, त्यसको परिपालन भयो भएन, त्यसको पनि विभिन्न तह र तप्काबाट अनुगमन भइरहेको समेत जानकारी गराए । निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको जानकारी समेत दिए ।
प्रतिक्रिया