इटहरीमा दुई दिने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सम्पन्न

आइतबार, ०६ पुस २०८२

इटहरी : इटहरीमा दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आइतबार सकिएको छ । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा जनता बहुमुखी क्याम्पसले आयोजना गरेको शैक्षिक सम्मेलन समापनका क्रममा क्याम्पसको स्थापनाकालदेखि अहिलेसम्म सहयोग गर्ने पाँच जना व्यक्तित्वलाई सम्मान गरियो । 

जसमा पूर्व मन्त्री तथा इटहरी गाउँ पञ्चायत छँदाका प्रधानमञ्च रामकुमार सुब्बा, इनरुवा घर भएका तत्कालिन जिल्ला विकास समितिका सभापति रमेश श्रेष्ठ,  पूर्व अध्यक्ष मेदनीप्रसाद सिटौला र विश्व रिजाललाई सम्मान गरियो । इटहरीका व्यवसायी भिमबहादुर पौडेललाई पनि सम्मान गरियो । उनले क्याम्पसमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीका लागि ५१ लाख रुपैयाँको अक्षयकोषको घोषणा गरेका छन् । 

क्याम्पस पूर्व सञ्चालक समितिका अध्यक्ष स्वर्गीय हरिप्रसाद रिजाललाई मरणोपरान्त सम्मान गरियो । दिंवगत रिजालकी श्रीमती पवित्रादेवीलाई सम्मानपत्र प्रदान गरियो । सवैलाई इटहरीका मेयर हेमकर्ण पौडेलले सम्मानपत्र प्रदान गरे । 

दुई दिनसम्म चलेको कार्यक्रममा चारवटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच, चारवटा फिचर्ड स्पिच, समूह छलफल, कविता प्रस्तुती, अन्तरक्र्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला र ८४ वटा कन्करेन्ट सेसन सञ्चालन गरिएको थियो ।  

जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ सुरु भएको सम्मेलनमा  विदेशका चारवटा देशका विज्ञसहित नेपालका नाम चलेका शैक्षिक विज्ञहरुले प्रस्तुती गरे । सम्मेलनमा पाँच सयभन्दा बढीको सहभागिता रह्यो । 

कार्यक्रम समापनका अवसरमा इटहरीका व्यवसायी भीमबहादुर पौडेलले इटहरीको समग्र विकासमा सवै क्षेत्रका व्यक्ति सकारात्मक भएर संगठीत हुनुपर्नेमा जोड दिए । पूर्व मन्त्री रामकुमार सुब्बाले इटहरीको विकासका निम्ति समय र परिस्थिती अनुसार फेरिने नेतृत्वलाई स्वीकार गरेकोमा अब पनि त्यही ढंगले अघि बढ्न सुल्झाए ।

 मेयर हेमकर्ण पौडेलले सम्मेलनले इटहरीको समग्र विकासका समाजका हरेक नागरिक सकारात्मक ढंगले लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले अग्रजले देखाएको बाटो अनुसार अघि बढ्दा नै क्याम्पसले महत्वपूर्ण सफलता हात पारेको बताए । जनता क्याम्पसमा कोशी र मधेश प्रदेशका पाँच हजार भन्दा बढी विद्यार्थी विभिन्न संकायमा अध्ययनरत छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार