जेन जी आन्दोलनमा जलाइएका भवनहरूको खरानी परीक्षण गराउँदै जाँचबुझ आयोग

बुधबार, ०५ कार्तिक २०८२

काठमाडाैं : जेन जी आन्दोलनमा भएको दमन र हिंसात्मक गतिविधिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले विभिन्न भवनहरूमा आगजनी गर्न प्रज्वलनशील रसायन प्रयोग भए वा नभएको पत्ता लगाउनका लागि वैज्ञानिक परीक्षण गराउने भएको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले महत्त्वपूर्ण भवनहरूबाट खरानी सङ्कलन गरेर परीक्षण गर्न नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई भनेको जानकारी दिएका छन्।

प्रहरी प्रयोगशालाका प्रमुखले जाँचबुझ आयोगले पठाएको पत्रअनुसार परीक्षण गरिने बताएका छन्। नेपाली सेनाका अनुसार भदौ २३ र २४ को जेन जी प्रदर्शनका क्रममा सरकारी कार्यालयसहित झन्डै ७०० वटा संरचनामा क्षति पुगेको छ।

संसद् भवन, सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय रहेको शीतलनिवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास, मन्त्रीहरूको निवास सहितका महत्त्वपूर्ण सरकारी कार्यालयमा आगजनीका कारण ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

भदौ २४ गतेको प्रदर्शनका क्रममा तात्कालिक प्रधानमन्त्री केपी ओली, सत्ता साझेदार दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड सहितका कैयौँ नेता र सरकारी अधिकारीका घरमा पनि आगजनी भएको थियो।

आन्दोलनको केही दिनपछि बिबिसीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो घरमा आगजनीका लागि पटकाजस्तो वस्तु प्रयोग गरिएको बताएका थिए।

"पहिला पेट्रोल छर्किन्छन्। त्यसपछि लाइटरजस्तो के हो कुन्नि पटका पड्काएर भित्र आगो लगाउने। अनि कोठाकोठा जलाउँदै हिँड्ने। यो प्रकारले जलाएको रहेछ," खनालले भनेका थिए। आगजनीमा उनकी श्रीमती गम्भीर घाइते भएकी थिइन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि हिमालय टिभीलाई दिएको अन्तर्वार्तामा रसायन प्रयोगको आशङ्का व्यक्त गरेका छन्।

"म आफैँ पनि आर्किटेक्चरको विद्यार्थी हुनुको नाताले, अहिलेको आधुनिक प्रविधिले बनेका भवनहरू त्यति साह्रो ह्वार्ह्वार्ती दन्कने गरी आगो लाग्दैन। त्यहाँ विशेष प्रकारको केमिकल आदि चाहिँ प्रयोग हुनुपर्छ," उनले भने।

अमेरिकी प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले विज्ञहरूलाई उद्धृत गर्दै नेपालको प्रदर्शनका क्रममा आगजनीका लागि रसायन प्रयोग भएको हुन सक्ने समाचार प्रकाशित गरेको थियो।

आयोगले कसरी छानबिन गर्दैछ

जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार प्रदर्शनका क्रममा आगजनीबाट ठूलो क्षति पुगेका भवनहरूबाट खरानी सङ्कलन गरेर परीक्षण गर्ने निर्णय आयोगले गरिसकेको छ।

"हामीले केही महत्त्वपूर्ण भवनहरूबाट खरानी सङ्कलन गरेर परीक्षण गर्न प्रहरीको विधिविज्ञान प्रयोगशालालाई पत्राचार गरिसकेका छौँ," उनले बिबिसी न्यूज नेपालीसँग भने।

आयोगले सकेसम्म छिट्टै परीक्षणको प्रतिवेदन दिन प्रयोगशालालाई भनेको उनले बताएका छन्। छानबिन आयोगका अनुसार आगजनी र तोडफोडबाट भएको क्षतिको छानबिन र अनुसन्धान माग गर्दै कैयौँ सरकारी निकायहरूले आयोगमा उजुरी दिएका छन्।

आयोगले सरकारी र संवैधानिक निकायहरूमा भएको क्षतिबारे निवेदन दिन आह्वान समेत गरेको थियो।

"व्यावसायिक घरानाहरूबाट पनि जाँचबुझका लागि निवेदन आएका छन्। अहिलेसम्म राजनीतिक व्यक्तिहरूले आफ्नो सम्पत्तिमा भएको क्षतिबारे छानबिन गर्न निवेदन दिएका छैनन्," शर्माले भने।

आयोगले कतिपय स्थानमा स्थलगत निरीक्षण गर्ने योजना बनाएको थियो। नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक शर्माको नेतृत्वमा गएको टोली पूर्वका झापा, मोरङ र सुनसरीको स्थलगत अवलोकनबाट फर्किसकेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की सुदूरपश्चिम प्रदेशको स्थलगत अवलोकनमा जाने तयारीमा छन्। कार्की सहितको टोलीले केही समयअघि प्रधानमन्त्री कार्यालय समेत रहेको सिंहदरबारको राणाकालीन भवनमा आगजनीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेको थियो।

आयोगका अर्का सदस्य कानुनविद्‌ विश्वेश्वर भण्डारीको नेतृत्वमा रहेको टोली पनि स्थलगत अवलोकनमा जाने तयारीमा छ।

परीक्षणको नतिजा कहिले आउँछ

नेपाल प्रहरीको प्रयोगशालामा काम गर्दै एक कर्मचारी, उनले प्रहरीको पोसाक र त्यसमाथि सेतो एप्रोन लगाएकी छन्।

एक महिनाअघि गठित जाँचबुझ आयोगलाई छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ। आयोगले १२ सातामा काम सक्ने गरी कार्य योजना बनाएर काम गरिरहेको प्रवक्ता शर्माले बताए।

आयोगको पत्रअनुसार अवशेषहरूको परीक्षण गरेर पठाउन नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालालाई १०–१५ दिनको समय लाग्ने प्रयोगशालाका प्रमुख योगबहादुर पालले बताए।

"नमुना सङ्कलनको काम प्रहरी प्रधान कार्यालयबाट गठन भएको विशेषज्ञ टोलीले गरिरहेको छ। त्यो टोलीमा हाम्रो प्रयोगशालाका साथीहरू पनि सहभागी हुनुहुन्छ," पालले भने।

"त्यो नमुना कस्तो स्वरूपमा आउँछ त्यसको परीक्षण र विश्लेषणका लागि लाग्ने समय त्यहीअनुसार निर्धारण हुन्छ।"

"साधारणतया हाम्रो क्षमताले भ्याउने मात्रा र स्वरूपको नमुना आयोग भने हामीले १०–१५ दिनमा रसायन प्रयोग भए नभएको प्रतिवेदन दिन सक्छौँ। देशबाहिर परीक्षणका लागि पठाउनुपर्ने अवस्था आयो भने मात्र समय लाग्ने हो।"

राष्ट्रिय चासोको विषय भएकाले प्रयोगशालाले प्राथमिकता दिएर परीक्षणको काम अघि बढाउने उनले बताएका छन्।

बल प्रयोगको छानबिनका लागि पत्राचार

जाँचबुझ आयोगले प्रहरीको गोली लागेर धेरै प्रदर्शनकारीहरूको मृत्यु भएको भदौ २३ गते खटिएका सुरक्षाकर्मीहरूको विस्तृत विवरण पठाउन चारवटै सुरक्षा निकायलाई पत्राचार गरेको जनाएको छ।

"चारवटै सुरक्षा निकायका को–को व्यक्तिहरू कुन समयमा कहाँ खटिएका थिए भन्ने समयरेखा सहितको विवरण पठाउन हामीले पत्राचार गरेका छौँ," आयोगका प्रवक्ता शर्माले भने।

भदौ २३ मा नयाँबानेश्वरस्थित संसद् भवन क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरूको मृत्यु भएको थियो। नेपाली सेनाले कम्तीमा २२ जना प्रदर्शनकारीहरूको मृत्यु प्रहरीको गोली लागेर भएको जनाएको छ।

प्रहरीले भिड नियन्त्रणको स्तरीय अभ्यास विपरीत प्रदर्शनकारीहरूलाई घुँडाभन्दा माथिको भागमा गोली चलाएको र घातक हतियार प्रयोग गरेको भन्दै छानबिन माग भइरहेको छ।

-बिबिसी

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार