काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरूले निर्वाचनमा सहभागी हुन तयार भएको बताएका छन्।
मङ्गलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागी दलहरू निर्वाचनमा सहभागी हुन तयार भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले निर्वाचनमा सहभागी हुन सबै दल तयार भए पनि सुरक्षा व्यवस्थाप्रति उनीहरूले केही संशय व्यक्त गरेको बताउनुभयो।
छलफलमा जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनी सम्बन्धी छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग दलहरूले राखेको खरेलले उल्लेख गर्नुभयो।
खरेल भन्छन्, “फागुन २१ गते हुने निर्वाचनका सम्बन्धमा छलफल भयो। सुशासन र भ्रष्टाचार नियन्त्रणबारे पनि छलफल भयो। जेनजी आन्दोलनको क्रममा भएको तोडफोडको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने विषयमा पनि छलफल भयो।
सरकारको तर्फबाट निर्वाचनको वातावरण निर्माण गर्नका लागि गर्नुपर्ने कामहरू दलहरूसँग सेयर गरिएको छ।
आयोगले गर्ने निर्वाचनको सुरक्षा, स्रोत र साधनबारे पनि दलहरूलाई जानकारी दिएको छ। राजनीतिक दलहरूले सुरक्षाको वातावरण अलि बढी सुनिश्चित गर्नुपर्ने कुरा उठाएका छन्।
सबै दलहरूले चुनावमा भाग लिने प्रतिबद्धता जनाएका छन्। चुनावमा भाग लिँदा सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ भन्ने दलहरूको चासो रहेको छ।”
फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुन दलहरू तयार भए पनि त्यसका लागि सुरक्षा व्यवस्थापन सरकारले गर्नुपर्ने धारणा दलहरूको रहेको उहाँको भनाइ छ।
प्रतिक्रिया