कागती बिक्री गरेर तीन लाख आम्दानी

बुधबार, ०५ कार्तिक २०८२

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागतीखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन्। घिमिरेले कागती बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने बताए ।

अहिले उनले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोपेका छन् । “व्यावसायिक रूपमा कागतीखेतीमा लागेका छु”, उनले भने, “अहिले वार्षिक दुईदेखि तीन लाख रुपैयाँ आम्दानी लिँदै आएको छु । साना बिरुवा पनि विस्तार गरेको छु । ती हुर्किएपछि आम्दानी अझ बढ्नेछ ।” छ वर्षअघिबाट फलफूलखेती सुरु गर्नुभएका घिमिरेले कागतीसँगै सुन्तला र एभोकार्डोको पनि खेती पनि विस्तार गरेका छन् । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले बहुवर्षीय बालीखेतीमा जोड दिएको उनको भनाइ छ ।

“एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने बहुवर्षीय बाली खेती विस्तारमा जोड दिएको छु”, उनले भने, “कागतीसँगै सुन्तला, एभोकार्डोको पनि खेती गरिरहेको छु ।” फलफूलखेतीका लागि माटो र हावापानी उपयुक्त भएकाले पौवादुङमामा बहुवर्षीय खेती प्रणालीमा किसान आकर्षित भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। उनका अनुसार गाउँपालिकाले ‘एक घर, एक फलफूल’ कार्यक्रम सञ्चालन गरेर फलफूल खेतीमा लगानी गर्दै आएको छ ।

“पौवादुङमामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएका छौँ”, अध्यक्ष राईले भने, “यहाँ धेरै किसान बहुवर्षीय खेती प्रणालीमा जुटेका छन् । गाउँपालिकाले पनि आवश्यक प्रोत्साहन र सहयोग गर्दै आएको छ ।” गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बहुवर्षीय खेती प्रणालीबाट किसानले दीगो रूपमा आम्दानी लिनसक्ने भएकाले आवश्यक सहयोग गर्दै आएको बताए। किसानलाई भूगोलअनुसारको खेती प्रविधिमा जोड दिइएको उनको भनाइ छ । “वडागत रूपमा उत्पादन सम्भावना पहिचान गरेर विभिन्न जातका फलफूलखेतीमा प्रोत्साहन दिइरहेका छौँ”, उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार