मुख्यमन्त्री कार्कीको शुभकामना : पर्वले बढाओस् माया, एकता र सहकार्य

विहीबार, ०६ कार्तिक २०८२

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीपावली तथा भाइटिकाको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री कार्कीले आज जारी गरेको शुभकामना सन्देशमा “हाम्रो संस्कृति, हाम्रो गौरव” भन्ने मूल नाराका साथ यस पर्वले पारिवारिक एकता, माया र आपसी सम्बन्ध झन् प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

उनले देश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त भएकाले विविधता नै नेपालको शक्ति भएको उल्लेख गरेका छन्।

सन्देशमा मुख्यमन्त्री कार्कीले दीपावलीको उज्यालोले सत्य, न्याय र सद्भावको भावना फैलाउने र भाइटिकाले दिदीभाइबीचको आत्मीय प्रेम, माया र सम्मानलाई झन् गाढा बनाउन अवसर प्रदान गर्ने बताएका छन्।

उनले नेपाली समाजको मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै परम्परा, धर्म र संस्कृति नै हाम्रो पहिचान भएको स्मरण गराएका छन्।

मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश सरकारले सबै धर्म, जाति र संस्कृतिप्रति समान सम्मान राख्दै मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर कार्य गरिरहेको छ।

“यी पर्वहरूले नयाँ उत्साह, उमङ्ग र ऊर्जा सञ्चार गरी समाजमा सकारात्मक सोच, सहकार्य र एकताको वातावरण सृजना गर्न प्रेरणा दिन्छन्,” सन्देशमा भनिएको छ।

मुख्यमन्त्री कार्कीले अन्त्यमा सबै नेपालीमा दीपावली तथा भाइटिकाको मंगलमय शुभकामना व्यक्त गर्दै उज्यालो, सद्भाव र समृद्धिको कामना गरेका छन्।

दीपावली तथा भाइटिका_page-0001

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार