काठमाडौं : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड गरेको आरोपमा २६७ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म तोडफोड र आगजनीको अभियोगमा एक सय ५४ वटा मुद्दा परेका छन् । प्रहरीले हाजिर जमानीमा ८७ जनालाई छाडिएको जनाएको छ ।
एक सय १३ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ भने ३३ जनालाई धरौटीमा छाडिएको छ । पुर्पक्षका लागि ४३ जनालाई थुनामा पठाइएको छ । आगजनी, तोडफोड, आपराधिक उपद्रवसँगसम्बन्धी एक सय चार वटा जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
त्यसमा व्यक्तिगत २२, सरकारी कार्यालय आगजनी र तोडफोड गरेको ६६, संस्थागत एवं व्यापारिक प्रतिष्ठानमा सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आगजनी र तोडफोड गरेका सम्बन्धमा १६ वटा जाहेरी दर्ता भएका छन् ।
प्राप्त जाहेरी दर्खास्त सङ्ख्या ४२ रहेका छन् । त्यसमा तीन जना प्रहरी कर्मचारी रहेका छन् । पहिचान नखुलेको सात जनाको डिएनए परीक्षण प्रक्रिया अघि बढेको छ । आन्दोलनका क्रममा भवन संरचनाको क्षति सम्बन्धमा २२८ वटा मुचुल्का सम्पन्न भएको प्रहरीले जनाएको छ ।
आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय दुई कैदीबन्दीलाई पक्राउ गरी दाखिला गरिएको छ । हालसम्म ८३ नाल हतियार बरामद तथा दाखिला गरिएको छ ।
प्रतिक्रिया