धरधनीकै योजनामा लुटिएको थियो एसबीआई बैंक, २ करोड ६८ लाखसहित ७ जना पक्राउ

शुक्रबार, ०२ माघ २०८२

सिन्धुली : घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकार बैंक सञ्चालन भइरहेको घरकै धनी छविलाल स्याङ्तान रहेको पुष्टि भएको छ। प्रहरीले उनलाई पक्राउ गरेसँगै बैंक लुट उनको योजनामै गरिएको निष्कर्षमा पुगेको हो।

पुस २९ गते राति भएको लुटपाटमा संलग्न रहेको आरोपमा स्याङ्तानलाई पुस ३० गते महोत्तरीबाट पक्राउ गरिएको थियो। हालसम्म ७ जनालाई पक्राउ गरिएको छ भने एक जना मुख्य योजनाकार फरार रहेको प्रहरीले जनाएको छ।

शुक्रवार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा एसपी लालध्वज सुवेदीले लुटपाटमा संलग्न अभियुक्तहरूको विवरण सार्वजनिक गरेका हुन्।

पक्राउ पर्नेमा काभ्रेको बनेपा–१० का ४९ वर्षीय गाडी चालक भागवत सिंह थापा, घ्याङ्लेख–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर–२ का २४ वर्षीय शशाङ्क श्रेष्ठ, नुवाकोट पञ्चकन्या–५ का २३ वर्षीय मिलन गिरी र १९ वर्षीय विवेक मगर, घरधनी ४४ वर्षीय छविलाल स्याङ्तान तथा एक १६ वर्षीय बालक रहेका छन्।

प्रहरीका अनुसार घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापनदेखि सूचना आदान–प्रदानसम्ममा सहयोग गरेका थिए। स्याङ्तान, उनका जेठान चतुरमान बज्यु र अर्का फरार अभियुक्तले २०८२ असोजदेखि नै बैंक लुट्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धान अनुसार लुटको पहिलो प्रयास पुस २३ गते असफल भएको थियो। त्यसपछि पुस २९ गते काठमाडौँको कोटेश्वरबाट बनेपा हुँदै टाटा सुमो रिजर्भ गरेर लुटेरा समूह घ्याङ्लेख पुगेको प्रहरीले जनाएको छ।

लुटेराहरूले बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिँदै शाखा प्रमुखलाई नक्कली प्लास्टिकको पेस्तोल देखाएर भल्ट खोल्न बाध्य बनाएका थिए। उनीहरूले बैंकबाट ३ करोड ७ लाख रुपैयाँ लुटेको भए पनि हालसम्म २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ नगद बरामद गरिएको छ।

प्रहरीले लुटमा प्रयोग भएको २ थान खुकुरी, १ थान प्लास्टिकको पेस्तोल, ५ थान मोबाइल, मास्क, पन्जा र अन्य सामग्री पनि बरामद गरेको छ। घटनास्थलमा प्रयोग गरिएको पेस्तोल नक्कली रहेको खुलेको छ।

लुटपछि भाग्ने क्रममा प्रहरी र स्थानीयको सक्रियताले अभियुक्त पक्राउ गर्न र नगद बरामद गर्न सफलता मिलेको एसपी सुवेदीले बताए। पक्राउ परेकामाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ भने सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार