मोरङ : मोरङको सुन्दरहरैंचा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पहिलो पाइला नेपाल, सुन्दरहरैंचा शाखाले न्यानो कपडा वितरण गरेको छ।
शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई स्विटर प्रदान गरिएको हो। संस्थाका अध्यक्ष विजय ओझाले जानकारी दिए अनुसार, चिसो मौसमका कारण पठन–पाठनमा सहजता सुनिश्चित गर्न ‘न्यानो माया अभियान’ अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा वडा नं. २ का वडाध्यक्ष विवस प्रधानले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै विद्यार्थीका समस्याप्रति संवेदनशील बनेको भन्दै पहिलो पाइला नेपालको प्रशंसा गरे। उनले आगामी दिनमा यस्ता सामाजिक अभियानमा वडा कार्यालयले सहकार्य गर्न तत्पर रहेको पनि बताए।
कार्यक्रममा गछिया जेसिजका पूर्व अध्यक्ष धुर्व निरौला, महासचिव नवराज पोखरेल, पहिलो पाइला नेपालका केन्द्रीय सह–सचिव मिलन लुइँटेल, विद्यालयका प्रधानाध्यापक लिला भण्डारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाका पदाधिकारी एवं सदस्यहरूको उपस्थिती रहेको थियो।
कार्यक्रमको संयोजन संस्थाका सदस्य सुजन विष्टले गरेका थिए।
संस्थाले सञ्चालन गरेको यो अभियानले विद्यार्थीहरूलाई चिसो मौसममा अध्ययन गर्न सहज वातावरण प्रदान गर्ने उद्देश्य राखेको बताइएको छ।
प्रतिक्रिया