एनपीएल उद्घाटनः जनकपुर बोल्ट्सले काठमाडौंविरुद्ध पहिला ब्याटिङ गर्ने

सोमबार, ०१ मंसिर २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आजदेखि सुरु भएको छ । टीयु क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

काठमाडौंका कप्तान करण केसीले जनकपुरविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालको क्रिकेट इतिहासमै पहिलोपटक फ्लडलाइटमा हुन लागेको यो खेलले क्रिकेट प्रेमीहरूमा ठूलो उत्साह जगाएको छ ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरले पहिलो संस्करणको खेलमा काठमाडौँलाई सहजै हराएको थियो । यस पट्क पनि जनकपुरले काठमाडौँलाई हराउने उद्देश्यका साथ मैदानमा उत्रनेछ । त्यसो त काठमाडौँ पनि अघिल्लो संस्करणको हारको बदला लिँदै जित हासिल गर्न चाहन्छ ।

यस्तै पहिलो संस्करणमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु दासानायकेको नेतृत्वमा रहेको जनकपुर यस संस्करणमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालको प्रशिक्षणमा मैदानमा उत्रिँदैछ । दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिर र वायने पार्नेल जनकपुरले प्रतियोगिताका निम्ति भित्रयाएका चर्चित नाम हुन् । यी दुवैले अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिसकेका छन् । यस्तै, पहिला संस्करणको उद्घाटन र फाइनल खेलमा अर्धशतक बनाएका लाहिरु मिलान्थालाई जनकपुरले यसपटक पनि निरन्तरता दिएको छ ।

यसबाहेक, सञ्जय कृष्णमुर्ती र निकोल लोफ्टी इटोन हालसम्म जनकपुरबाट खेल्ने निश्चित भएका अन्य दुई नाम हुन् । यसअघि न्युजिल्यान्डका चर्चित अलराउन्डर जिम्मी निसमको साथ पाएको जनकपुरमा यसपटक भने उनको उपस्थिति रहने छैन ।

यता करण केसी मार्की खेलाडी रहेको काठमाडौँले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको भूमिकामा नियुक्त गरेको छ । मोन्टी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षकसमेत हुन् । आसन्न एनपिएलमा काठमाडौँ विदेशी खेलाडीको कोटा पूरा गर्ने पहिलो टोली हो । टोलीले पहिलो विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको थियो ।

त्यसपछि काठमाडौँले स्कटल्यान्डका जेरार्ड इरास्मससँग सम्झौता नवीकरण गरेको थियो । अमेरिकी अलराउन्डर मिलिन्ड कुमार, भारतीय मूलका अमेरिकी खेलाडी सन्नी पटेल र इङ्ल्यान्डका खेलाडीद्धय बेन चाल्र्सवर्थ र जोन सिम्पसन पनि टोलीमा जोडिएका छन् ।

एनपीएल क्रिकेटको नयाँ सिजनका लागि विश्वका विभिन्न १३ मुलुकका प्रसिद्ध क्रिकेट खेलाडी तथा नेपाली खेलाडीहरु एकै ठाउँमा आबद्ध भई यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा सहभागी आठवटै टिमले टेष्ट म्याच खेल्ने तथा एशोशिएट राष्ट्रका खेलाडी आ–आफ्नो टिममा भित्र्याउन ठूलो लगानी गरेका छन् । एनपिएल क्रिकेटमा भारत, अष्ट्रेलिया, इङ्गल्याण्ड, दक्षिण अफ्रिकालगायतका खेलाडीहरु विभिन्न नेपाली टिममा आबद्ध भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार