काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । यस वर्ष व्यक्तिगततर्फ सर्वाधिक आयकर तिर्ने व्यक्तिको रूपमा व्यवसायी राजबहादुर शाह सम्मानित भएका हुन् ।
अर्थमन्त्री रामेश्वर खनालले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर तिरेर राष्ट्रिय दायित्व पूरा गर्ने व्यक्ति, संस्था तथा निकायहरूलाई विशेष समारोहबीच सम्मानपत्र प्रदान गरे । सर्वाधिक आयकर तिर्ने निकायको रूपमा नेपाल दूरसञ्चार प्राधिकरणले सम्मान प्राप्त गर्दा, एकलौटी फर्मतर्फ थर्ड आइ इन्टरनेसनल सम्मानित भएको छ ।
वस्तुगत आयकरतर्फ डाबर नेपाल र सूचना–प्रविधितर्फ भेरिक्स नेपाल प्रालिलाई सम्मान गरिएको छ। त्यसैगरी, निर्यात कारोबारमा डाबर नेपाल प्रालि, कृषि तथा पशुजन्य उद्योगमा पोषक ब्रिडर, र बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंकले सम्मान पाएका छन् । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नोबेल मेडिकल कलेज र पर्यटन क्षेत्रमा सोल्टी होटल उत्कृष्ट करदाता घोषित भएका छन् ।
यसपटक वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जातर्फ भोटेकोशी पावर कम्पनी र रेमिट्यान्सतर्फ आईएमई सम्मानित भएका छन् । व्यक्तिगत आयकरमा राजबहादुर शाहले विशेष सम्मान प्राप्त गर्दा, समयमै कर तिर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले पनि सम्मान पाएको छ ।
५० करोडभन्दा बढी कारोबार गर्ने कम्पनीहरूमध्ये भीएफ सर्भिसेज र विशेष उद्योगका रूपमा युनिलिभर नेपाललाई पनि राष्ट्रिय कर दिवसको अवसरमा कदर गरिएको छ ।

प्रतिक्रिया