मोरङ : मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा पक्राउ परेका प्रतिवादी पदम बहादुर अधिकारीलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि जिल्ला कारागार मोरङ (विराटनगर) चलान गर्ने आदेश दिएको छ। अदालतले पुस १७ गते थुनछेक आदेश जारी गर्दै अधिकारीलाई कारागार पठाउने निर्णय गरेको हो।
अंशु गौतम असोज ७ गते घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। परिवार र स्थानीयवासीको सक्रिय खोजीपछि पनि लामो समयसम्म पत्ता नलाग्दा प्रहरी प्रशासनमार्फत खोजतलास जारी थियो।
१८ दिनपछि असोज २४ गते बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। शव दुई टुक्रामा भेटिएको र सडेको अवस्थामा रहेकाले घटना जघन्य रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको थियो ।
घटनापछि प्रहरीले प्राविधिक विश्लेषण, प्रमाण सङ्कलन र सम्बन्धित व्यक्तिहरूको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो। सो क्रममा सोही क्षेत्रमा बसोबास गर्दै आएका पदम बहादुर अधिकारीमाथि शङ्का गहिरिएको थियो। उनी घटनापछि भारततर्फ हिँडेको खुलेपछि प्रहरीको समन्वयका आधारमा फर्किएपछि नियन्त्रणमा लिइएको थियो। उक्त प्रकरणमा पीडित परिवारका तर्फबाट अंशुका बुबा नवीन गौतमले किटानी जाहेरी दिएका थिए।
प्रहरीले म्याद थप्दै थप विवरण सङ्कलन गरेर प्रमाण अदालतमा पेस गरेको थियो। सोही आधारमा पर्याप्त तथ्य र प्रमाण रहेका ठहर गर्दै मोरङ जिल्ला अदालतले प्रतिवादी अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अदालतको आदेशसँगै मुद्दा अब न्यायिक प्रक्रियाको औपचारिक चरणतर्फ प्रवेश गरेको छ।
प्रतिक्रिया