जेनजी आन्दोलनपछि झापामा बजार अनुगमन ठप्प : व्यापारीको मनपरी, मूल्यवृद्धिले हद नाघ्यो

के भन्छ झापा प्रशासन ?

मंगलबार, ०४ कार्तिक २०८२

 झापा : जेनजी आन्दोलन पछिको असहज परिस्थितिका कारण यसपटक झापामा बजारको अनुगमन हुनसकेन । दसैँ र तिहार दुवै पर्वका बेला बजारको अनुगमन कसैले गरेनन् ।

बजारको स्वच्छताका लागि नियमित रूपमा बजार अनुगमन गर्दै आएका पालिकाहरु भदौ २४ गते आगजनी र तोडफोड भएपछि आफैँ विस्थापित अवस्थामा पुगे ।

अनुगमन टोलीको मुख्य सरोकारवाला प्रहरीका भवन जलेका छन् भने कतिपय हतियार भीडले लुटेर लगेको अवस्था छ ।

‘अनुगमन गर्ने अवस्था नै रहेन,’ विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौला भन्छन् ‘नगरपालिका र प्रहरीका कार्यालय ध्वस्त भएका छन् ।

यस्तो विषम परिस्थितिमा अनुगमन कसरी गर्नु? नगरपालिकाले अनेक प्रयत्न गरेर नागरिकलाई अतिआवश्यक सेवा प्रदान गर्ने कार्य बल्ल सुरु गरेको छ ।’

झापाका १५ पालिकामध्ये १४ वटा पालिकामा जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको थियो भने दर्जनौँ प्रहरी चौकी र इलाका प्रहरी कार्यालय त्यस्तै आगजनी र तोडफोडको सिकार भएका थिए ।

यसअघि विर्तामोड नगरपालिका बजार अनुगमनमा अन्य पालिकाको तुलनामा बढी सक्रिय रहँदै आएको थियो । कृषि थोक बजारमा विषादी अवशेष जाँचेर मात्र तरकारी तथा फलफूलको बिक्री वितरण गर्न दिइने कडा व्यवस्था लागू भइरहेको थियो ।

बजारको स्वच्छताका लागि अगुगमन गर्ने अधिकार स्थानीय पालिकाहरूले पाएका छन् । झापाको विर्तामोड, शिवसताक्षी लगायतका केही पालिकाले फर्मालिन रसायन प्रयोग भएको माछा बिक्री गर्न नपाइने नियम लागू गर्दै आएका थिए ।

जेनजी आन्दोलनपछिको असहज अवस्थामा मरेका माछाको बिक्री वितरण खुल्ला रूपमा हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तेजप्रकाश प्रसाइँले प्रशासनको समन्वयमा स्थानीय पालिकाले बजार अनुगमन गर्दै आएको जनाउँदै जेनजी आन्दोलन र त्यसपछि बाढीको समस्याका कारण सबैको ध्यान उद्धार, राहत र उपचारमा गएको बताए ।

‘असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण झापामा बाढी र डुबानको समस्या विकराल बन्यो,’ सहायक प्रजिअसमेत रहेका प्रसाइँले भने ‘बजार अनुगमनभन्दा बाढी प्रभावितको राहत र उद्धारमा ध्यान दिनुपर्ने अवस्था आयो ।’

जेनजी आन्दोलनपछि बजार अनुगमनले निरन्तरता पाउन नसके पनि उपभोक्ताबाट कुनै गुनासो र उजुरी नआएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले कालो बजारी, कृत्रिम अभाव, अखाद्य वस्तुको मिसावट, नापतौलमा ठगीलगायत उपभोक्ता हितविपरीतका गतिविधि नगर्न सार्वजनिक रूपमा आग्रह गर्दै आएको उनले बताए ।

उपभोक्ता जागरण अभियान नेपालका झापा अध्यक्ष शालिकराम भट्टराईले अनुगमनको अभावमा बजारमा अराजकता फैलिएको बताए ।

‘व्यापारीले जति भाउ बढाए पनि भएकै छ, कसैको नियन्त्रण छैन,’ उनी भन्छन् ‘बजार पूरै अराजक बनेको छ । तरकारी, खाद्य वस्तु, यातायात भाडा लगायतको मूल्यवृद्धि आकासिएको छ ।’

उनले स्थानीय पालिकालाई तत्काल बजार अनुगमन गरेर उपभोक्ताको हितमा काम गर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार