इटहरीमा छठ पर्वको तयारी पूरा, ५५० पूजा घाट बुकिङ

मंगलबार, ०४ कार्तिक २०८२
file pic

इटहरी : सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइने छठ पर्वका लागि इटहरीको बुढीखोलामा तयारी पूरा भएको छ।

तराई–मधेसका विभिन्न स्थानमा मनाइने छठ पर्वका लागि आवश्यक पूजा घाटसहित अन्य तयारी पूरा भएको जानकारी मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा दिइएको हो।

unnamed (4)

छठ पर्व सेवा समिति इटहरीका सचिव मुकेश चौधरीका अनुसार अहिलेसम्म ५५० वटा पूजा घाट बुकिङ भइसकेको र अन्य ५० वटा मात्र बुकिङ हुन बाँकी रहेको छ। उनका अनुसार यस वर्ष दुई लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

छठ पर्वका लागि अर्थ सङ्कलनमा लिलम्बर चौधरी, पूजा घाट व्यवस्थापनमा कृष्ण खड्का, भण्डारा व्यवस्थापनमा गोपीलाल भगत, प्रचार–प्रसारमा सञ्जय साह, प्रसाद व्यवस्थापनमा हरिओम भगत र मञ्च व्यवस्थापनमा गौतम साह रौनियारलाई संयोजक तोकिएको छ।

यस्तै, शोभायात्राका लागि दीपक प्रसाद रौनियार, पिउने पानी व्यवस्थापनमा विजयकुमार साह, अतिथि सत्कारमा शनी चौधरी, अस्थायी पुल निर्माणमा प्रकाश महतो, प्राथमिक उपचारमा डा. संजय साह, विद्युत् अनुगमनमा सुभाष मण्डल, पूजा व्यवस्थापनमा कलेश्वर साह,

मेलामा सुरेन्द्र तामाङ, साउन्ड सिस्टममा विजयकुमार साह, झाँकी व्यवस्थापनमा मनिष साह र अस्थायी शौचालय व्यवस्थापनमा दीपककुमार रौनियारलाई संयोजक तोकिएको मूल आयोजक समितिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।

वर्षेनी इटहरीको बुढीखोलाको गंगाजमुना मुक्तिघाटको उत्तरतर्फ आयोजना हुने छठ पर्वमा सुरक्षाकर्मी, सय जना स्वयंसेवक र ५० जना सेक्युरिटी गार्ड सहित सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सिसिटिभी क्यामेरा जडान गरिनेछ।

छठ पर्वका लागि करिब २६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मूल आयोजक समितिका उपाध्यक्ष वासुदेव कर्णका अनुसार यस पटक ३६औँ छठ पर्व इटहरीमा आयोजना हुँदैछ र विगतका कमीकमजोरीलाई सुधार गर्दै अझ व्यवस्थित रूपमा कार्य भइरहेको छ।

पर्वका लागि इटहरी उपमहानगरपालिका, मोरङको सुन्दरहरैंचा नगरपालिका तथा दाता र दानपेटिका मार्फत रकम सङ्कलन गरिनेछ।

यसपटक कार्तिक १० गते अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा आराधना गरिनेछ र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिपूर्वक सम्पन्न हुनेछ।

व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि रातभर जाग्राम बसेर भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिने गर्छन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार