आज ‘क्रिसमस डे’ मनाइँदै

विहीबार, १० पुस २०८२

काठमाडौँ : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका ख्रिष्टियन धर्मावलम्बीहरूले क्रिसमस डे मनाइरहेका छन्।

आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको विश्वास गरिन्छ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानवजातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए।

उनका अनुसार येशु ख्रीष्टले मुक्ति दिन आएकाले मुक्ति दिवस, प्रेम फैलाउन आएकाले प्रेम दिवस र शान्ति स्थापना गर्न आएकाले शान्ति दिवसका रूपमा क्रिसमस मनाउने परम्परा रहेको छ।

विश्वका धेरै मुलुकमा व्यापक रूपमा मनाइने क्रिसमस डे नेपालमा भने विसं २०६३ सालपछि महासङ्घको पहलमा महोत्सवका रूपमा मनाउन थालिएको अध्यक्ष गहतराजले बताए।

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिने जनाइएको छ। महोत्सवमा सरकारका प्रतिनिधि, सरोकारवाला निकायका अधिकारी, मानव अधिकारकर्मी लगायतको उपस्थिति रहने उनले जानकारी दिए।

क्रिसमस डे का अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। त्यसपछि विसं २०७५ देखि २०७७ सम्म ख्रिष्टियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो भने विसं २०७८ देखि पुनः सबैका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।

पछिल्लो समय क्रिसमसको अवसरमा प्रमुख सहरका मुख्य स्थानहरू क्रिसमस ट्री र बत्तीहरूले सजाइने गरिएको छ। विशेष गरी पर्यटक बढी आउने ठमेल, बौद्ध, पोखरा, सौराहा लगायतका क्षेत्रमा क्रिसमसको उल्लास बढी देखिने गरेको छ।

महासङ्घको दाबीअनुसार हाल नेपालमा करिब ३० लाख ख्रिष्टियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च सञ्चालनमा छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार