काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बहुमतले २८ देखि ३० वैशाख २०८३ सम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै केन्द्रीय समिति सर्वोच्च कि महाधिवेशन प्रतिनिधि ? भन्ने कानुनी बहस सतहमा आएको छ ।
यसअघि २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि ‘सके नियमित, नत्र विशेष महाधिवेशन’को पक्षमा खुलेका नेता डा. शेखर कोइराला संस्थापन पक्षसँग नजिकिएपछि बहुमतले चुनावपछि नियमित महाधिवेशन गर्ने निर्णय गरेको हो ।
विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरेका महामन्त्रीद्वय केन्द्रीय समितिमा अल्पमतमा परेपछि राजनीतिक निर्णयभन्दा कानुनी प्रक्रियातर्फ अघि बढेका छन् ।
काँग्रेस विधानको धारा १७(२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै निवेदन दिएमा केन्द्रले यस्तो महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । यसलाई बाध्यकारी व्यवस्था भन्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित अल्पमतका नेताहरू विशेष महाधिवेशन बोलाउने तयारीमा जुटेका छन् ।
यही तयारीअनुसार शनिवार कानुन व्यवसायीसँग परामर्श गरिएको महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् । उनका अनुसार कानुन व्यवसायीले काँग्रेस विधानअनुसार महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन केन्द्रले गराउनै पर्ने बाध्यता रहेको र केन्द्रले पहल नगरे मागकर्ताले नै महाधिवेशन बोलाउन सक्ने अधिकार पनि विधानले दिएको सुझाव दिएका छन् ।
शर्माका अनुसार २१ फागुनको निर्वाचनअघि नियमित महाधिवेशन नभए आफूहरू विशेष महाधिवेशन जसरी पनि गराउने अभियानमा जुटिसकेका छन् ।
उता, काँग्रेस प्रवक्ता प्रकाशशरण महत भने केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरिसकेकाले विशेष महाधिवेशन माग्दै गरिएको हस्ताक्षरको औचित्य सकिएको बताउँछन् । उनले काँग्रेस अब कानुनीभन्दा राजनीतिक तर्क र सुझबुझका आधारमा अघि बढ्ने भन्दै नेता–कार्यकर्तालाई निर्वाचनमा जुट्न आह्वान गरिसकेको बताए ।
नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ताव गरेको र बहुमतले पारित गरेको नयाँ निर्वाचन कार्यतालिकाअनुसार—
२१ चैत : वडा अधिवेशन
२५ चैत : गाउँ तथा नगरपालिका अधिवेशन
२८ चैत : प्रदेश सभा क्षेत्रीय अधिवेशन
२ वैशाख : प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा एक मात्र प्रतिनिधि सभा क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन
५ वैशाख : दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन
कार्यतालिकाअनुसार जनसम्पर्क समितिहरूले ७ माघभित्र क्रियाशील सदस्यताको नामावली केन्द्रमा पठाउनुपर्ने र २९ माघभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया