आरपी पन्त : कलाकारिता, व्यवसाय र समाजसेवाको बहुआयामिक यात्रा

सोमबार, २१ पुस २०८२

काठमाडौं । वरिष्ठ कलाकार आरपी पन्त नेपाली कला र पर्यटन क्षेत्रको एक परिचित नाम हो। कलाकार र व्यवसायी दुवै रूपमा लामो समयदेखि सक्रिय पन्तको जीवन यात्रा संघर्ष, अनुशासन र निरन्तर साधनाले भरिएको छ। अभिनय, टेलिभिजन, फिल्म, पर्यटन व्यवसाय र संस्थागत नेतृत्व- यी सबै क्षेत्रमा उनले आफूलाई फरक ढंगले स्थापित गरेका छन्।

कलाकारिताप्रतिको रुचि पन्तमा सानैदेखि थियो। सुरुमा गायनप्रति गहिरो चाहना भएपनि स्वरले साथ नदिएपछि उनी नाटकतर्फ आकर्षित भए । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा मञ्चन हुने नाटकहरूमा सहभागी हुँदै उनले अभिनयको औपचारिक शिक्षा लिए । स्वर्गीय प्रचण्ड मल्लबाट नाटक अभिनय सिकेका पन्तले मञ्चीय अभिनयमार्फत आफूलाई निखार्दै लगे।

आफ्नो कलाकारिता यात्राको सुरुआत स्मरण गर्दै पन्तले संयोगवश एक हिन्दी फिल्मको सुटिङमा मोटरसाइकलसहित देखिँदा सानो भूमिकामा काम गर्ने अवसर पाएको प्रसंग सुनाए। त्यसबाट प्राप्त पारिश्रमिकले आफूलाई यो क्षेत्रमा आकर्षित गरेको उनले बताए। त्यसपछि नेपाल प्रज्ञा प्रतिष्ठानमा नाटकमार्फत अभिनय सिकेको र स्वर्गीय प्रचण्ड मल्ल तथा सन्तोष पन्तबाट ठूलो प्रेरणा पाएको उनले स्मरण गरे।

उनी भन्छन्, ‘नेपालमा कति वर्ष अगाडि होला ? मैले बिर्सेँ एउटा हिन्दी सिनेमाको सुटिङ हुँदै रहेछ, टियूमा। टियूको गेटतिर मान्छे झुमिएको देखेँ। किन रहेछ भनेर हेर्न जाँदा सुटिङ भइरहेको हिन्दी सिनेमा रहेछ । मसँग राम्रो मोटरसाइकल थियो, त्यो मोटरसाइकल हेरेर त्यहाँमा केही व्यक्तिले तपाइँपनि मोटरसाइकलमा आइदिनुहोस भनेर भन्नुभयो। फुर्सदैमै भएकाले त्यहाँबाट मोटरसाइकलमा चढेर भक्तपुरको बाटोमा हिरो पनि अघि अघि र पछि पछि हामी हिड्ने सिन रहेछ । अनि कहिले हात हल्लाउँदै, कहिले के गर्दै, आ-आफ्नै तरिकाले जाने किसिमको क्यारेक्टर सिन रहेछ । त्यहाँ मलाई पनि राखियो । त्यसमा मलाई ४३० रुपैयाँ दिइयो । त्यो पैसा पाएपछि मलाई यतातिर आकर्षित गर्यो । गायन क्षेत्रमा मलाई असाध्यै रहर थियो। गीत गाउन असाध्यै मन लाग्थ्यो तर गायन क्षेत्रमा आफ्नो भोकलले साथ नदिएपछि दिमाग मोडिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान र नाचघरमा, सिटि हलतिर नाटकहरू मन्चन भइरहन्थे । अनि त्यही सहभागी भइयो । दुई चारवटा नाटकहरू राम्रोसँग गरियो।’

प्रचण्ड मल्लले आफूहरुलाई अभिनय सिकाउनुभएको अनि आफूलाई पनि अलिअलि कलाकार हुँ भन्ने हुटहुटी भएकाले साथै ४३० कमाएर आएपछि कला क्षेत्रतिर मोडिएको उनले सुनाए।

उनको कलाकारिता यात्रामा निर्णायक मोड नेपाल टेलिभिजनको लोकप्रिय व्यंग्य कार्यक्रम ‘हिजोआजका कुरा’बाट आयो। सन्तोष पन्तको निर्देशन र मार्गदर्शनमा उनले क्यामेराभित्रको अभिनय सिक्ने अवसर पाए । यही कार्यक्रमले उनलाई देशव्यापी रूपमा चिनायो। त्यसपछि ‘वंश’, ‘परिचय’ जस्ता चर्चित टेलिसिरियलहरूमा शीर्ष तथा प्रमुख क्यारेक्टर निभाउँदै उनी टेलिभिजनका भरपर्दा कलाकारका रूपमा स्थापित भए।

फिल्म क्षेत्रमा पनि पन्तले करिब तीन दर्जन फिल्ममा अभिनय गरेका छन्। ‘अग्निज्वाला’ जस्ता फिल्ममा उनको सशक्त क्यारेक्टरहरू दर्शकको स्मृतिमा आज पनि ताजा छन्। उनी प्रायः सपोर्ट र क्यारेक्टर रोलमै देखिएपनि आफ्नो भूमिकामा गहिरो प्रभाव छाड्न सफल भए । पन्तका लागि चर्चाभन्दा आत्मसन्तुष्टि र दर्शकको सम्मान नै ठूलो उपलब्धि रह्यो।

कलाकारितासँगै पन्त पर्यटन व्यवसायमा पनि उत्तिकै सक्रिय रहे। ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) मा लामो समय अध्यक्ष रहँदै उनले नेपालको ट्रेकिङ र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेले।

साथै, हिमालय उद्धार संघ नेपालको करिब एक दशक नेतृत्व गर्दै हिमाली क्षेत्रमा उद्धार र स्वास्थ्य सचेतनामा योगदान पु¥याए । यही कारण उनी आज ‘वरिष्ठ पर्यटनविद्’ का रूपमा पनि परिचित छन्।

कोभिडपछि केही समय फिल्म क्षेत्रबाट टाढा रहेका पन्त हाल पुनः सक्रिय हुने प्रयासमा छन्। हालै पहिलो पटक म्युजिक भिडियो ‘समयमा समय हुँ’ मा अभिनय गर्दै उनले नयाँ अनुभव बटुलेका छन् । समय सूचक क्यारेक्टरमा देखिएका पन्तले यो कामलाई फरक प्रयासका रूपमा लिएका छन्।

नेपाल न्यूज बैंकको कुराकानीमा उनी भन्छन्, ‘ अहिले भर्खरै एउटा म्युजिक भिडियोमा एउटा क्यारेक्टरको रोल निभाएको थिएँ। समय सूचकको जस्तो एउटा क्यारेक्टर आफूले निभाउने अवसर पाएँ पहिलो चोटी जीवनमा। पहिलो चोटी म्युजिक भिडियोमा एउटा काम गरेँ। अरू धेरै गरेको छैन। तीन-चार वर्ष जति भयो, करिब-करिब म अलिकति कम काम गरेको भन्दा पनि कामै नगरेको, इन्डस्ट्रीमा त्यति धेरै काम गरेको छैन मैले। तर अब फेरि दुई-चारवटा प्रोजेक्टहरू हातमा छन् । गर्ने क्रममा छु।’

जीवनका यी सबै मोडमा पन्त अनुशासन, इमान्दारिता र निष्ठालाई आफ्नो मूल मन्त्र मान्छन्। उनी भन्छन्, ‘कलाकारिता होस् वा व्यवसाय, मूल्य र प्रतिबद्धता बिना दीर्घकालीन सफलता सम्भव छैन। भविष्यमा बाल अधिकारसम्बन्धी सामाजिक काममा पनि सक्रिय हुने चाहना छ मेरो।’

कोभिडपछिको समयलाई सम्झँदै पन्तले आफ्नो अन्तिम फिल्म ‘द म्यान फ्रम काठमाडौं’ र विराज भट्ट अभिनित ‘साङ्ग्लो’ पछि आफू केही समय फिल्म उद्योगबाट टाढा रहेको बताए । सो अवधिमा डकुमेन्ट्री र सिरियलका केही प्रयासहरू भए पनि ती पूर्ण हुन नसकेको उनले उल्लेख गरे।

उनले भने, ‘लगभग कोभिडपछि मेरो अन्तिम फिल्म थियो ‘द म्यान फ्रम काठमाडौँ’। अनि हाम्रो विराज भट्टजीको साङ्ग्लो भन्ने फिल्म गरेको थिएँ। त्यसपछि म एउटा डकुमेन्ट्री बनाउने सिलसिलामा थिएँ, त्यो डकुमेन्ट्री मेरो पूरा हुन सकेन र अर्को एउटा दुई-एउटा सिरियलमा काम गर्न भनेर बसेको थिएँ। त्यो पनि अधुरै रह्यो। त्यसमा अलिकति स्टोरीहरू मिलाउने भन्दा-भन्दै ढिलो भयो ।’

कलाकारिता र व्यवसाय दुवै क्षेत्रमा लामो अनुभव सँगालेका पन्तले दुवै क्षेत्रमा चुनौती उत्तिकै रहेको बताए।  उनले भने, ‘चुनौती दुइटै क्षेत्रमा छ । के छ भने अब कलाकारिता क्षेत्रमा पनि आफूले अनुशासित, इमान्दार, निष्ठापूर्वक काम गर्न सकिएन भने डेफिनेट्ली, आफू पछि परिन्छ । केही न केही चिज बिग्रिन्छ । त्यो बिग्रिनु भनेको अनुशासनमा नबस्दा हो। निष्ठापूर्वक काम नगर्नु हो । आफूले लिनुपर्ने जिम्मेवारी लिनलाई हल्का भइदिनु हो, इत्यादि कुराले कलाकारिता क्षेत्रमा अप्ठ्यारो पर्नसक्छ । अनुशासन, इमानदारिता र निष्ठा बिना कलाकारिता क्षेत्रमा टिक्न गाह्रो हुन्छ भने व्यवसायमा पनि यही मूल्यहरू आवश्यक पर्छन्।’

फिल्म क्षेत्रमा आफूले क्यारेक्टर कलाकारका रूपमा काम गरेको उल्लेख गर्दै पन्तले ‘अग्नि ज्वाला’ फिल्ममा निभाएको मास्टरबाको भूमिकालाई दर्शकले अझै सम्झिने गरेको बताए। ‘हिरो-हिरोइनजस्तो चर्चा नपाए पनि आफ्ना भूमिकाबाट आत्मसन्तुष्टि मिलेको छ,’ उनले भने।

कलाकारितासँगै पर्यटन व्यवसायमा पनि सक्रिय पन्त ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष तथा हिमालय उद्धार संघ नेपालका पूर्वअध्यक्ष समेत हुन् । पर्यटन क्षेत्रमा नीति निर्माणदेखि नेतृत्वसम्मको लामो अनुभवले आफूलाई ‘वरिष्ठ पर्यटनविद्’ को रूपमा चिनाएको उनले बताए।

पन्तले आगामी दिनमा कलाकारिता र सामाजिक उत्तरदायित्वका कामलाई सँगसँगै अघि बढाउने इच्छा व्यक्त गरे । ‘चुनौती त सधैँ रहन्छ,’ उनले भने, ‘तर सकारात्मक सोच र मेहनतले अगाडि बढ्न सकिन्छ।’

पन्तको जीवन केवल कलाकारिताको मात्र होइन, जिम्मेवार नागरिक र समाजप्रति उत्तरदायी व्यक्तित्वको पनि कथा हो, जहाँ सानो पर्दाबाट ठूलो पहिचानसम्मको संघर्ष र साधना स्पष्ट देखिन्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार