एमाले खोटाङले गर्यो प्रतिनिधिसभा निर्वाचनका लागि विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

सोमबार, २१ पुस २०८२

खोटाङ: नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट १० जनाको नाम सिफारिस गरेको छ।

दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा सोमबार बसेको सचिवालयको तेस्रो बैठकले एक निर्वाचन क्षेत्र रहेको खोटाङबाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य विशाल भट्टराईसहित १० जनाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको एमाले खोटाङका सचिव सुरेन्द्रकुमार राईले जानकारी दिए।

सिफारिस हुनेमा एमाले केन्द्रीय सदस्य विशाल भट्टराई, कोशी प्रदेश कमिटीका उपसचिव देवान राई, जिल्ला अध्यक्ष देवविक्रम राई, निवर्तमान केन्द्रीय सदस्यहरू खगेन्द्र राई र रमेशकुमार पौडेल, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पिके), एमाले खोटाङका निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल, एमाले कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरे, अखिल नेपाल महिला संघ खोटाङकी अध्यक्ष धनुकमारी श्रेष्ठ र अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु उपरकोटी रहेका छन्।

एक नम्बरमा सिफारिस भएका विशाल भट्टराई २०७० सालको संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

त्यसैगरी, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भट्टराईले एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका थिए।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेससहितको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता रामकुमार राई (पासाङ)सँग पराजित भएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार