काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अभूतपूर्व संकटबाट गुज्रिरहेको बताउँदै आन्तरिक द्वन्द्व र शक्ति संघर्ष त्यागी एकताबद्ध हुन नेतृत्वलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा बोल्दै उनले भने, “आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ । यस्तो अवस्थामा आत्मघाती बाटो होइन, एकताको बाटो लिनुपर्छ ।”
पार्टी बहस सिमित, राष्ट्रिय मुद्दा ओझेलमा
डा. महतका अनुसार हाल पार्टीभित्रको सम्पूर्ण बहस गठबन्धन गर्ने–नगर्ने र विशेष महाधिवेशन गर्ने–नगर्ने जस्ता आन्तरिक विषयमा मात्र केन्द्रित छ । उनले भने, “राष्ट्रिय मुद्दामा छलफल नै छैन, यो दुर्भाग्यपूर्ण हो । संकटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे गम्भीर बहस हुनुपर्ने थियो, तर त्यो हुन सकेको छैन ।”
२४ गतेको विध्वंश ‘उपलब्धि होइन’
गत भदौ २३ गते सुशासनका लागि युवा आन्दोलनलाई समर्थन जनाउँदै उनले भदौ २४ गतेका विध्वंशकारी गतिविधिलाई भने निन्दा गरे । उनका शब्दमा, “सिंहदरबार, सर्वोच्च, संसद र राष्ट्रपति भवनमाथि आक्रमण गर्ने घटना युवापुस्ताको स्वतःस्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम थिए । त्यस्तो विध्वंशलाई उपलब्धि मान्न सकिँदैन ।”
आन्तरिक घेराबन्दी घातक
डा. महतले पार्टीभित्रकै चरित्रहत्या र आरोप–प्रत्यारोपले संगठन कमजोर बनाएको बताए । “प्रतिस्पर्धा विपक्षीसँग हुनुपर्ने हो, तर हामी आफ्नैभित्र कसलाई कमजोर पार्ने भन्ने खेलमा छौँ,” उनले भने । उनले सामाजिक सञ्जालमा आफूविरुद्ध गरिएको गालीगलौज र भ्रम फैलाउने अभियानलाई “गलत र उद्देश्यप्रेरित” भन्दै आपत्ति जनाए ।
‘सत्य बोल्नेको मुख बन्द, झूट बलियो’
बीपी कोइरालाको भनाइ उद्धृत गर्दै महतले भने, “जब सत्यको मुख बन्द हुन्छ, झूटको थुतुनो चल्छ । आज पार्टीमा सत्य बोल्नेको मुख बन्द छ, तर झूटको हल्ला तीव्र छ ।”
दुई प्रमुख संकट : सुशासन र कूटनीतिक असन्तुलन
उनले सुशासन र कूटनीतिक असन्तुलनलाई वर्तमान राष्ट्रिय संकटका दुई प्रमुख कारणका रूपमा औंल्याए । “सुशासनमा ‘जिरो टोलरेन्स’ अब नारामा होइन, व्यवहारमा लागू गर्नुपर्छ,” उनले भने, “नेपाल कुनै शक्तिराष्ट्रको खेलको मैदान बन्न नदिन सक्नुपर्छ ।”
उनले पार्टीको ध्यान विशेष वा पूर्ण महाधिवेशनमा सीमित राख्नुको सट्टा आगामी राष्ट्रिय निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए । “फागुनमा चुनाव भयो भने कांग्रेस एकढिक्का भएर जानुपर्छ, भएन भने महाधिवेशनको वैकल्पिक समय तय गरौँ,” उनले भने ।
‘एकता नै संकट समाधानको उपाय’
महतले आह्वान गरे, “को सभापति बन्छ भन्ने बहसभन्दा माथि उठौँ । संकटमा पार्टी फुटाउने होइन, जोड्ने हो । कांग्रेस एक भयो भने देशलाई पनि जोगाउन सक्छ, लोकतन्त्रलाई पनि बलियो बनाउन सक्छ ।” उनले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति अहिले फेरि सान्दर्भिक बनेको भन्दै वर्तमान परिस्थितिमा त्यही बाटोले मात्र कांग्रेस र देशलाई संकटबाट निकाल्न सक्ने निष्कर्ष व्यक्त गरे ।
प्रतिक्रिया