इनरुवा: सुनसरीको इनरुवा नगरपालिका–२ स्थित श्री राजाजी रामजी महतो(दास) मा.वि.का लेखा कर्मचारीले छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलित बनेका छन्।
विद्यार्थीहरूले विद्यालयका लेखा कर्मचारी सुरेश मेहताले एकपछि अर्को गर्दै छात्राहरूमाथि यौन दुव्र्यवहार गर्ने गरेको गुनासो गर्दै सोमबार विद्यालय बाहिर प्रदर्शन गरेका हुन्। उनीहरूले आरोपी कर्मचारीमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।
आन्दोलित विद्यार्थीहरूले विद्यालय बाहिर प्रदर्शन गर्दै इनरुवा नगरपालिका कार्यालय केही समय घेराउ गरेका थिए भने त्यसपछि पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन समेत गरेका थिए। प्रदर्शनका कारण केहीबेर सवारी आवागमन प्रभावित भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले घटनाबारे हालसम्म लिखित उजुरी नआएको जानकारी दिए। उनले विद्यार्थीहरूले नगरपालिकामा घेराउ गरेको र राजमार्गमा टायर बालेर प्रदर्शन गरेको जानकारी आएको बताए। उजुरी आएमा कानुनी कारबाही अघि बढाइने उनले बताए।
खड्काका अनुसार औपचारिक उजुरी नआए पनि मौखिक जानकारीका आधारमा प्रारम्भिक अनुसन्धान अघि बढाइएको छ।
यता, अभिभावक तथा विद्यार्थीबाट गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिले बैठक बसेर आरोपी कर्मचारीसँग स्पष्टीकरण मागेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बौधनारायण मेहताले कर्मचारीको चरित्र र व्यवहारबारे गुनासो आएको भन्दै पुस २० गतेको बैठकबाट स्पष्टीकरण सोधिएको जानकारी दिए।
विद्यालयका प्रधानाध्यापक रामसागर मेहताले पुस १४ गते आधिकारिक रूपमा गुनासो आएपछि ७२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको बताए। समयमै स्पष्टीकरण नआए विद्यालय नियमअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
यता, आन्दोलित विद्यार्थीहरूले भोलिसम्म आरोपी कर्मचारी कारबाहीको दायरामा नल्याए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया