विराटनगर : भारतबाट भन्सार छल्दै भित्र्याइएका खाद्य पूरक सामग्री विराटनगरमा ढुवानी व्यवसायकै संरक्षण र मिलेमतोमा खुलेआम ओसारपसार हुँदै आएको गम्भीर तथ्य सार्वजनिक भएको छ ।
सशस्त्र प्रहरी बलको विशेष कारबाहीपछि ढुवानी कम्पनीलाई प्रयोग गरेर भइरहेको संगठित तस्करीको जाल सतहमा आएको हो । सशस्त्र प्रहरी बल मोरङले सोमबार विराटनगर महानगरपालिका–५ स्थित बिजुली अफिस नजिकै ठूलो परिमाणमा अवैध खाद्य पूरक सामग्री लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।
भारतबाट क्यारिङमार्फत भित्र्याइएका सामग्री विराटनगरमै संकलन गरी नक्कली बिलबिजक खडा गरेर पूर्वी पहाडी जिल्ला धरानलगायतका बजारतर्फ पठाउने तयारी भइरहेका बेला ट्रकसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा विराटनगरमा हरि श्रेष्ठले सञ्चालन गर्दै आएको पञ्चबुद्ध ढुवानी सेवा अवैध कारोबारको मुख्य माध्यम बनेको पाइएको छ ।
सशस्त्र प्रहरीका अनुसार ढुवानी सेवाको गोदाममै क्यारिङमार्फत ल्याइएका सामग्री भण्डारण गरिने र त्यसपछि नक्कली कागजात तयार पारेर कानुनी ढुवानीझैँ देखाउँदै गन्तव्यसम्म पठाउने गरिएको थियो । यसले ढुवानी व्यवसायको नाममा तस्करीलाई सुरक्षित र व्यवस्थित बनाउने प्रयास भइरहेको स्पष्ट देखिएको छ ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेका अनुसार प्रदेश १–०२–००१ ख ९७४२ नम्बरको ट्रकमा २ हजार ८ सय ८० थान विभिन्न प्रकारका खाद्य पूरक सामग्री लोड गरिएको अवस्थामा नियन्त्रणमा लिइएको हो । बरामद सामग्रीको मूल्य करिब ५ लाख ७६ हजार रुपैयाँ बराबर आँकलन गरिएको छ भने प्रयोग गरिएको ट्रकको मूल्य करिब ४ लाख रुपैयाँ रहेको छ ।
लामो समयदेखिको निगरानी र विशेष सूचनाका आधारमा यो कारबाही सम्भव भएको एसपी घिमिरेले बताए । ट्रक चालक मोरङको धनपालथान गाउँपालिका–६ का रोशनकुमार राजवंशीलाई पनि नियन्त्रणमा लिइएको छ ।
प्रारम्भिक अनुसन्धानबाट राजवंशीले पञ्चबुद्ध ढुवानी सेवासँग मिलेर अवैध सामग्री ओसारपसारको सम्पूर्ण ‘सेटिङ’ मिलाएको खुलेको सशस्त्र प्रहरीले जनाएको छ । चालकको स्वीकारोक्तिपछि ढुवानी सेवाका सञ्चालक हरि श्रेष्ठको भूमिका पनि शंकास्पद देखिएको छ ।
श्रेष्ठको संलग्नता, आर्थिक कारोबार, नक्कली कागजात निर्माण प्रक्रिया र सम्भावित नेटवर्कबारे विस्तृत अनुसन्धान अघि बढाइएको स्रोतले बताएको छ । बरामद सामग्री, नियन्त्रणमा लिइएको ट्रक र पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइसकिएको जानकारी सशस्त्रले दिएको छ ।
भन्सार कार्यालयका अनुसार ढुवानी व्यवसायको आडमा भइरहेको यस्तो अवैध धन्दामा संलग्न अन्य व्यक्ति, व्यापारी र सञ्जालको पहिचान गर्न थप अनुसन्धान भइरहेको छ । पछिल्लो समय चिकित्सकको सिफारिसमा खाद्य पूरक सामग्री प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएसँगै यसको बजार माग पनि तीव्र बनेको छ ।
यही मागलाई आधार बनाएर भारतबाट अवैध आयात गर्ने, भन्सार छल्ने, म्याद गुज्रिएका सामग्रीमा नयाँ लेबल टाँसेर बजारमा पठाउनेजस्ता गतिविधि विराटनगर क्षेत्रमा बारम्बार दोहोरिँदै आएको सरोकारवालाको भनाइ छ । यसअघि पनि विराटनगर–५ का विपिन झालाई यस्तै अवैध गतिविधिमा संलग्न रहेको आरोपमा राजस्व अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।
म्याद सकिएका खाद्य पूरक सामग्रीमा नयाँ लेबल लगाएर बिक्री वितरण गर्ने र भारतबाट भरिया प्रयोग गरी तस्करी गर्ने गरेको खुलेपछि उनीविरुद्ध मुद्दा चलाइएको थियो । धरौटीमा रिहा भए पनि खाद्य पूरक तस्करीको श्रृंखला भने रोकिएको देखिँदैन ।
ढुवानी कम्पनीकै प्रत्यक्ष संलग्नतामा पछिल्लो पटक भएको यो घटनाले विराटनगरलाई केन्द्र बनाएर पूर्वी पहाडी जिल्लातर्फ हुने अवैध व्यापार संगठित र सुरक्षित रूपमा सञ्चालन भइरहेको पुष्टि गरेको छ । नियमन र अनुगमन कमजोर हुँदा ढुवानी व्यवसाय तस्करीका लागि सहज माध्यम बन्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूका अनुसार जिम्मेवार निकायको कडा निगरानी र संलग्न व्यक्तिमाथि उदाहरणीय कारबाही बिना यस्तो अवैध कारोबार रोकिने सम्भावना न्यून छ । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर विशेष निर्देशन दिएका छन् ।
उनका अनुसार नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै हुने तस्करी राज्यका लागि गम्भीर चुनौती बन्दै गएको छ । ‘सीमा सुरक्षा र चोरी–तस्करी नियन्त्रण सशस्त्र प्रहरीको प्रमुख जिम्मेवारी हो । त्यसलाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा निगरानी र कारबाही दुवै बढाइएको छ,’ डीआईजी न्यौपानेले बताएका छन् ।
उनले तस्करी नियन्त्रणका लागि नियमन, अनुगमन र विभिन्न निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाइने स्पष्ट पारे । शंकास्पद गतिविधि देखिए वा तस्करीसम्बन्धी सूचना भएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन उनले सबैलाई आग्रह गरेका छन् । राजस्व चुहावट रोक्न र अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरी थप सतर्क भएर लागेको डीआईजी न्यौपानको भनाइ छ ।
प्रतिक्रिया