इटहरी : इटहरीस्थित एनआईसी एसिया बैंकको कार्यालयभित्रै बैंक कर्मचारीमाथि प्रज्वलनशील पदार्थ (पेट्रोल) खन्याउने प्रयास भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा इटहरी उपमहानगरपालिका–४ निवासी लालबहादुर पौडेललाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी सुवास हमालका अनुसार पौडेल बैंकभित्र प्रवेश गर्दा “कर्मचारीलाई पनी मार्छु र आफू पनि मर्छु” भन्ने मनसाय देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरीले तत्कालै हस्तक्षेप गरी पौडेललाई नियन्त्रणमा लिएको र घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको डिएसपी हमालले जानकारी दिए । सम्भावित ठूलो दुर्घटना समयमै टरेको प्रहरीले जनाएको छ ।
यस घटनापछि सामाजिक सञ्जाल र स्थानीय तहमा भने विवाद चर्किएको छ । बैंकका कारण ऋणको चापमा परेर मानसिक तनाव झेलेका व्यक्तिलाई पक्राउ गरी प्रहरीले थप पीडा दिएको आरोपसमेत उठ्न थालेको छ ।
नागरिक बचाउ अभियान कोशीका प्रमुख सरोज सिंहले ऋणीमाथि अनावश्यक मुद्दा लगाएर दमन गर्न खोजिएको दाबी गर्दै घटनालाई सामाजिक र आर्थिक पीडासँग जोडेर हेर्नुपर्ने बताएका छन् ।
यता प्रहरीले भने घटनालाई सार्वजनिक सुरक्षासँग जोडिएको आपराधिक प्रयासको कोणबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
प्रतिक्रिया